साउदीबाट हालसम्म ८ सय नेपाली स्वदेश फर्किए, भिसाको अवधि सकिए पनि फर्कंदा जरिवाना नलाग्ने

Posted on: 27 Jun, 2020

योगेन्द्र योगी | असार १३, दोहा | कोरोना भाइरसका कारण समस्यामा परेका नेपाली नागरिकहरुलाई प्राथमिकताको आधारमा स्वदेश फर्काउन तय गरिएको उडान मार्फद हालसम्म ८ सय ०७ जना नेपाली नागरिक स्वदेश फर्किसकेको एनआएनए साउदीले जनाएको छ । 

जुन १८ बाट सुरु भएको हिमालय एयरलाइन्स मार्फत साउदीको दमामबाट १५३ जना, रियाद नेपाल एयरलाइन्स बाट २४७ जना  जुन २३ मा दमामबाट हिमालय एयरलाइन्सको दोस्रो उडान मार्फत १५४ जना र जेध्दाबाट नेपाल एयरलाइन्स मार्फद २५३ जना सहित ४ वोटा शव नेपाल पुर्याइएको एनआएनए मध्यपूर्व उपसंयोजक राजेन्द्र अर्याल जानकारी दिएका छन् ।


कोरोनाबाट हालसम्म साउदीमा संक्रमितको संख्या १ लाख ७४ हजार ५ सय ७७ पुगेको छ । उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या १ लाख २० हजार ४ सय ७१ पुगेको छ भने हालसम्म  १ हजार ४ सय ७४ जनाको मृत्यु भैसकेको छ । 

यता, साउदी सरकारले कोरोनाका कारण भिसाको म्याद सकिएको भए पनि  साउदीबाट जरिवानाबिनै नेपालीहरु स्वदेश फर्कन सक्ने जनाएको छ ।

साउदीस्थित नेपाली दूतावासका अनुसार कोरोना महामारीका कारण अर्को निर्णय नभएसम्मका लागि बहिर्गमन भिसा, पुन: प्रवेश भिसा र सबै प्रकारका भिजिट भिसा र पर्यटक भिसा लिएकाहरु कुनै जरिवानाबिना साउदीका जुनसुकै प्रस्थान बिन्दुबाट पनि स्वदेश फर्कन सक्ने जनाएको छ ।

यसरी फर्कंदा भिसाको अवधि सकिएको भए पनि कुनै जरिवाना र शुल्क लाग्ने छैन । साउदीमा समस्यामा परेर प्राथमिकतामा परेका नेपालीलाई अहिले दूतावासले चार्टर्ड उडानमार्फत स्वदेश पठाइरहेको दूतावासले जनाएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!