मलेसियाले अर्को हप्ता देखि अवैधानिक रुपमा बस्दै आएका विदेशी श्रमिक फर्काउन सुरु गर्ने

Posted on: 31 May, 2020

जेठ १९, काठमाडौं । मलेसियाले अर्को सातादेखि कागजात विहिन(अवैध रुपमा बसिरहेका) विदेशी श्रमिक फर्काउने भएको छ । सुरुमा आगामी जुन ६ तारिखका दिन ईण्डोनेशियाली श्रमिकबाट स्वदेश फर्काउने काम सुरु हुने मलेसियाका रक्षा मन्त्री ईस्माईली साव्री याकोवलाई उधृत गर्दै स्थानीय सञ्चार माध्यमले समाचार लेखेका छन् ।

त्यसरी फर्काइनेहरुलाई ईण्डोनेशियाली दूतावासले र्यापिड टेष्ट मार्फत कोभिड १९ को परीक्षण गर्ने र परीक्षणमा संक्रमण नदेखिएकाहरुलाई स्वदेश फर्काउन सुरु गरिने समाचारमा जनाइएको छ । जुन २२ सम्ममा ईण्डोनेशियाली श्रमिकलाई फर्काइसक्ने मलेसियाको योजना छ ।

यसैगरी हाल घर फिर्ति केन्द्रमा राखिएका २ सय ४६ जना नेपाली तथा २ हजार ४ सय ७६ बंगलादेशी नागरिकलाई पनि यहिबीचमा फर्काउने गरी छलफल चलिरहेको मलेसियाका सरकारी अधिकारीलाई उधृत गर्दै समाचारमा जनाइएको छ । सवै मुलुकले अविलम्व आफ्ना नागरिक फिर्ता लैजाने विषयमा सकारात्मक सहयोग गर्ने अपेक्षा गरिएको उनले बताए ।

यसरी घरफिर्ति केन्द्रमा राखिएका मध्ये हालसम्म तीनजना नेपाली लगायत ३५ जनालाई कोभिड १९ संक्रमण भएको पुष्टि भएको छ । त्यसैले मलेसियाले सकेसम्म छिटो अवैधानिक रुपमा बसिरहेका व्यक्तिहरुलाई उनीहरुको मुलुक फर्काउने प्रयास गरिरहेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!