विदेशमै अन्तिम संस्कार गर्न ७५ परिवारको सहमति, विदेशमा अझै १७२ शव बाँकि

Posted on: 30 May, 2020

जेठ १७, काठमाडौं । वैदशिक रोजगारीका क्रममा मृत्यु भई विदेशमा शव रहेका १ सय ७२ जनामध्ये ७५ जनाका आश्रित परिवारले सम्बन्धित मुलुकमा आफन्तको अन्तिम संस्कार गर्न सहमति दिएका छन् । वैदेशिक रोजगार बोर्डको सचिवालयका अनुसार शुक्रबारसम्म मलेसियामा ४८, साउदी अरेवियामा ४७, कतारमा २७, यूएईमा १२, कुवेतमा ११, बहराइनमा ३, ओमानमा १ र अन्य देशमा ३ गरी विदेशमा १ सय ७२ नेपालीको शव रहेको छ ।


त्यसमध्ये कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुने नेपालीको संख्या २३ रहेको छ ।  कोरोनाबाट मृत्यु भएकामध्ये साउदीमा ९ जना, कतारमा ४ जना, यूएईमा ९ जना रहेका छन् भने अन्य समूहमा रहेका ३ मध्ये कोरोनाबाट एक जनाको मृत्यु भएको बोर्डले जनाएको छ । बोर्डले मलेसियामा रहेका शवमध्ये ४ जनाको परिवारले, साउदी अरबमा रहेका शवमध्ये ११ जनाको परिवारले, कतारमा १० जनाको परिवारले, यूएईमा ३६ जनाको परिवारले, बहराइनमा २ जनाको परिवारले, दक्षिण कोरियामा ४ जनाको परिवारले र देश नखुलेको ८ जनाको परिवारले सम्बन्धित देशमा नै अन्तिम संस्कार गर्ने सहमति दिएको जनाएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोरोना भाइरस महामारीका कारण अन्तर्राष्ट्रिय उडान बन्द भएकाले विदेशमा मृत्यु भएका कामदारहरुको शव सम्बन्धित देशमा नै अन्तिम संस्कार गर्नुपर्ने अवस्था आएको भन्दै सहमतिका लागि परिवारका सदस्यहरुलाई आह्वान गरेको थियो । विदेशमा नै दाह संस्कार गर्न सहमति जनाएका मृतक कामदारका आश्रीत परिवारलाई सान्त्वना स्वरुप ५० हजार रुपैयाँ उपलब्ध गराउने श्रममन्त्रालयले यसअघि नै निर्णय गरिसकेको छ । 

मन्त्रालयले कोराना भाइरस संक्रमण लामो समय रहने अवस्था देखिएकोले विदेशमा रहेका शव नेपाल ल्याउन सहज नभएको भन्दै अन्तिम संस्कारका लागि परिवारको सदस्यको सहमति जिल्ला प्रशासन कार्यालयमार्फत सहमति पत्र पठाइदिन आग्रह गरेको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!