चैत १२, काठमाडौं । मलेसिया सरकारले आगामी अप्रिल १४ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ । यसअघि मार्च ३१ गतेसम्म तोकिएको लकडाउनको अवधि कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि अप्रिल १४ गतेसम्म समय थपिएको हो ।
मलेसियाका प्रधानमन्त्री तनश्री मुहिद्धिन यसिनले राष्ट्रिय सुरक्षा परिषद र स्वास्थ्य मन्त्रालयसँगको ब्रिफिङपछि लकडाउन अवधि थप गर्ने निर्णय लिएको मलेसियास्थित संचार माध्यमहरुले जनाएका छन् । प्रधानमन्त्री यसिनले त्यहाँका नागरिकलाई यो लामो समय घरमै बस्न मानसिक र शारीरिक हिसाबले तयार रहन पनि आग्रह गरेका छन् ।
मलेसियामा पछिल्लो समय संक्रमितको सङ्ख्या बढ्दै गएको छ । हिजो एकै दिनमा मात्र एकसय ७२ नयाँ व्यक्तिमा कोरोना सङ्क्रमण देखिएको छ । बुधबार नेपाली समय १ बजेसम्म मलेसियामा १७ सय ९६ जनामा कोरोना संक्रमण देखिएको छ भने कोरोनाकै कारण १७ जनाले ज्यान गुमाइसकेका छन् ।
वैदेशिक रोजगारीको क्रममा मलेसियामा रहेका नेपालीलाई केही समस्या भएमा ६०३२०२०१८९९ र ६०२०२०१८९८ मा सम्पर्क गर्न मलेसियास्थित नेपाली दूतावासले अनुरोध गरेको छ ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!