चिटिक्क बन्यो 'वैदेशिक रोजगार कार्यालय ताहाचल'

Posted on: 16 Mar, 2020

चैत्र ३, काठमाडौं । सेवाग्राहीको दैनिक भीडभाड हुने कार्यालय मध्ये एक हो । वैदेशिक रोजगार विभाग अन्तर्गतको ताहाचल कार्यालय । जहाँबाट म्यानपावर कम्पनीहरुले वैदेशिक रोजगारीको मागपत्रको स्वीकृति लिने र रोजगारीमा जानेहरुको लागि व्यक्तिगत तथा अन्तिम श्रम स्वीकृति लिने गर्दछन् । तर यहि कार्यालयले दिने यस्ता सेवामध्ये श्रम स्वीकृति विश्वव्यापी रुपमा फैलिएको कोरना भाइरसको कारण नेपाल सरकारले अनिश्चितकालीन रुपमा गत शुक्रबारबाट रोक्ने निर्णय गरेपछि कार्यालयमा सेवाग्राहीको संख्या ठप्प प्राय: नै छ । केहि श्रम प्रतिनिधिले आफ्ना पुराना फाइल पेश गर्ने बाहेक अरु कुनै काम हुन सकेको छैन ।


कर्मचारी नै फुर्सिदिला भएपछि कार्यालयका कर्मचारीको सामुहिक बैठक बस्ने समयका साथ आफ्नो कार्यालयलाई सफाइ गर्ने उपयुक्त अवसर पनि मिलेको छ । सोमबार कार्यालय समय शुरु हुनेबित्तिकै सबै कर्मचारी हातमा कुचो बोकेर कार्यालय परिसर सफा गरेका छन् । त्यसमा साथ दिए फाइल बोकेर गएका केहि सेवाग्राही अर्थात् श्रम प्रतिनिधिले पनि ।


कार्यालय प्रमुख सहित सबैजना मिलेर करिब २घन्टासम्म सरसफाई गर्दा सबैभन्दा बढी पान गुड़का र परागका फोहोर धेरै भेटिएका थिए । कार्यालय प्रमुख उमेश बस्नेतले भने 'संधै सेवाग्राहीको चाप हुँदा कार्यालयमा सबै कर्मचारीको बैठक बस्न सकेको थिएन, हिजो अर्थात् आइतबार सबै जनाले ३ घण्टा सामुहिक  छलफल गरौँ । हाल कार्यालय बन्द हुँदा भन्दा पनि अब कार्यालय खुलेपछि सेवाग्राहीको चापलाई कसरी व्यवस्थित गर्ने र सेवा प्रवाह सहज गर्नेबारे पनि छलफल केन्द्रितभयो ।' 


सुरक्षा गार्ड र क्लिनर बाहेक ५७ जनाको दरवन्दी रहेको कार्यालयमा हाल ५० जना कर्मचारी छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!