मलेसिया जान १ लाख २० हजार लिंदा-लिंदै समातिए एजेन्ट

Posted on: 24 Nov, 2019


मनोज पराजुली | मंसिर ८, काठमाडौँ | बैदेशिक रोजगार विभागले मलेसिया पठाउने भन्दै कामदारसँग अबैध रकम लिँदै गरेको अवस्थामा एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङ मौवाखोला गाउँपालिका स्थाई घर भएका कैलाश लिम्बु रहेका छन् ।

सरकारले एजेन्टको व्यवस्था खारेज गरेपनि म्यानपावरहरुमा एजेन्टहरु मार्फत नै कारोवार भईरहेको गुनासो आईरहेका बेला मलेसिया पठाउने भन्दै लिम्बुले सिन्धुली कमलामाई नगरपालिका वडा नं. ११ का झलक बहादुर विक. र कोष्टराज विकसँग नगद रकम लिएका थिए । लिम्बुले पिडितहरुलाई शुक्रबारका दिन 'शनिबार उडान छ, पैसा लिएर आउनु' भनेर बोलाएपछि पीडितहरु घरबाट मलेसिया जाने साइत गरेर काठमाडौँ आएका थिए तर श्रमस्वीकृति समेत नलिइ पीडितहरुलाई काठमाडौँ बोलाइएको खुलेको छ । 


हिजो शनिबारनै उडान भनेर आएपनि पीडितहरुको श्रमस्वीकृति नभएको र चर्को रकम समेत मागेको बिषयमा बैदेशिक रोजगार बिभागमा उजुरी परेपछि सोहि उजुरीको आधारमा बिभागले तीनकुनेमा रहेको नोभा इन्टरनेशनलको कार्यालयबाट लिम्बुलाई पक्राउ गरेको हो । बिभागको टोली अनुगमनमा पुग्दा लिम्बुले पीडितहरुसंग नोभा इन्टरनेशनलको हाताभित्र पैसा लिएर सोहि म्यानपावरका कर्मचारी गोकुल न्यौपानेलाई बुझाईसकेका थिए । न्यौपानेले पैसा अशुलीमा आफ्नो संलग्नता नरहेको बताएपनि लिम्बुले न्यौपानेकै अनुरोधमा पैसा लिएको दावी गरेका छन् । बिभागले अनुगमनको क्रममा न्यौपानेसंग रहेको १ लाख २० हजार नगद समेत बरामद गरेको छ ।


दुई युवाबाट मलेसिया पठाउने भन्दै प्रति व्यक्ति १ लाख २० हजार रकम मागेको र यसअघि पनि लिम्बुले प्रति व्यक्ति ४०/४० हजार रुपैंया लिएको खुलेको छ । पीडितहरुले आईएमई मार्फत लिम्बुलाई रकम पठाएको प्रमाण बिभागलाई बुझाएका छन् ।  पिडितहरुको मलेसियाको लागि भिषा आएपनि श्रम नभएको विभागले जानकारी दिएको छ । पीडितहरुको ब्लु ओसियन रिक्रुटमेन्ट मार्फत श्रमस्वीकृतिको लागि बिभागमा फाइल पुगेको बिभागले जानकारी दिंदै सोहि म्यानपावरले पीडितहरुलाई निशुल्क मलेसिया पठाउनुपर्ने कानुनी बाध्यता हुने बताएको छ । 


लिम्बुमाथि अनुसन्धान प्रक्रियाका लागि अनुसन्धान अधिकृत तोकेर कानुनी प्रक्रिया अगाडी बढाइएको बिभागका महानिर्देशक डा. भिष्म कुमार भुसालले जानकारी दिए । लिम्बुलाई संस्थागत रुपमा जोडिएको अवस्थामा संस्थागत नभए व्यक्तिगत ठगिमा कानुनी कारवाही गरिने भुसालले बताए । 

बैदेशिक रोजगार बिभागले रकम लिने व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडी बढाएको जनाएको छ । कामदारसँग अबैध रुपमा शुल्क अशुल गर्ने प्रवृति बढेको गुनासो आएको भन्दै बिभागले त्यस्ता व्यक्ति विरुद्धको अपरेशनलाई तीब्र बनाएको जनाएको छ । सरकारले एजेन्ट व्यवस्था खारेज गरिसके पछि पनि पछिल्लो समय म्यानपावरले नै व्यक्ति मार्फत रकम लिन लगाउने गरेका छन् । 

भुलसुधार: माथिको समाचारमा ब्लु ओसियन रिक्रुटमेन्ट प्रा.लि हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ ।

# बैदेशिक रोजगार मोबाइल एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् 

यस बिषयमा तपाइको प्रतिक्रिया...!