म्यानपावर व्यवसायीको चुनाव: नेकपा निकटले बहिष्कार गर्ने, कांग्रेस निकटको उम्मेद्वारी !

Posted on: 12 Jun, 2019

मनोज पराजुली, जेठ २९, काठमाडौं। नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी निर्वाचनको मिति तोकिएसगै म्यानपावर व्यवसायी विच तीव्र मतभेत बढेको छ। विशेषगरि नेकपा समर्थित प्रगतिशील बैदेशिक रोजगार व्यवसायी मंच र नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरम विच संघको नयाँ निर्वाचन गर्ने कि नगर्ने भन्नेमै विवाद देखिएको छ। 

संघको कार्यसमितिको कार्यकाल ३ महिना बाँकी रहँदै गत चैत २६ गते संघले साधारणसभाको मिति तोकेको थियो। तर संघका अध्यक्ष रोहन गुरुङको बसुन्धरास्थित निवासमा नेत्र विक्रम चन्द ‘विप्लव’ समुहले बम विष्फोट गराएर क्षति पुर्याएपछि साधारणसभा र निर्वाचन स्थगित गरिएको थियो। त्यस पश्च्यात जेठ २४ गते बसेको संघको कार्यसमितिको बैठकले आगामी असार २७ मा निर्वाचन सहितको वार्षिक साधारणसभा गर्ने निर्णय गरिसकेको छ। संघको कार्यसमितिको २ वर्षे कार्यकाल आगामी असार ३० गते सकिंदैछ । संघमा हाल ९ सय ८३ संस्था आवद्ध छन् । 

संघको गत निर्वाचनमा प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च र माओवादी केन्द्र निकट वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चसहित छ वटा संस्था मिलेर निर्वाचनमा होमिएका थिए। गत निर्वाचनमा प्रगतिशील निकट व्यवसायीको समुहले बहुमत सिट जितेको थियो तर यस पटक सरकारले म्यानपावर कम्पनीको धरौटी वृद्धि गराउँदा नेकपा निकट रहेका व्यवसायी संघमा आवद्ध व्यवसायीले नै प्रभावकारी भूमिका नखेलेको भन्दै व्यवसायीहरु संघ प्रति रुष्ट रहँदै आएका छन् ।  

संघको निर्वाचन गर्ने निर्णयलाई लिएर नै व्यवसायी विच नै अहिलेको अवस्थामा निर्वाचन आवश्यकता हो, कि होइन भन्ने विवाद सतहमा आएको छ। तर कतिपय म्यानपावर व्यवसायी यसलाई बेलाको बोलि नभएको तर्क गर्दछन् । सरकारले एकतर्फी धरौटी रकम बढाएको र व्यवसायीका माग सुनुवाई नभएको अवस्थामा सबै मिलेर सर्वसम्मत नेतृत्व चयन गर्न सुझाव दिन्छन् । यसै सन्दर्भमा साझा सवालले संघको आगामी निर्वाचमा केन्द्रित गरि संघका सल्लाहकार, पुर्व अध्यक्ष तथा केहि म्यानपावर व्यवसायी प्रतिनिधीहरुको विचार जस्ताको त्यस्तै समेटेको छ।


सहमतिमा काम गरौँ : पदमराज पौडेल, संघ सल्लाहकार 

अहिलेको अवस्थामा राजनीतिक व्यक्तिले चुनाव चाहेका हुन्, हामीलाई व्यवसाय व्यवस्थित बनाउन चाहिएको हो । अहिले व्यवसायीहरु भोलिका दिनमा को रहने, को नरहने ? भन्ने निश्चित छैन । यो बेलामा चुनाव होइन, ऐन कानून एउटा पाटो छ, तर सहमतिमा यी सबै व्यवसायी रहने गरि एउटा बेला राखेर त्यो बेलासम्म चुनाव गराएर हस्तान्तरण गर्ने पक्षमा जानुपर्छ । अहिलेको अवस्थामा पुर्व अध्यक्षहरु मध्येबाट सिनियर मध्येबाट एक जनाले संयोजन गर्ने, अरु अध्यक्षहरुलाई सदस्यमा राखेर एउटा टिम बनाउनु पर्छ, भदौ पछि को रहन्छ, को रहँदैन थाहै छैन । संघको विधान कस्तो छ भने, एक जना सदस्य रहेन भने पनि चुनाव गराउनै पर्छ । अहिलेको बेला अरु बेला जस्तो होइन मिलेर जानुपर्छ ।

सर्वसम्मत कार्यसमिति बनाउनुपर्छ :  बिमल ढकाल, संघ, निवर्तमान अध्यक्ष 

अहिलेको विषम परिस्थितिमा सम्पूर्ण व्यवसायी एकजुट भएर अगाडी बढ्नुपर्ने आवश्यकता हो । यसका लागि उचित र सक्षम व्यक्ति जसले सरकारसंग छलफल गरेर व्यवसायीका समस्या समाधान गर्ने व्यक्तिको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति बनाउन सकियो भने त्यो भन्दा उपयुक्त अरु हुँदैन । अहिलेको अवस्थामा वाद-विवाद, विचार, पार्टी भन्दा पनि एक कदम माथि उठेर हामी सम्पूर्ण व्यवसायी हौँ, भनेर व्यवसायीको हिसाबले अगाडी बढ्दा सबैको भलो हुन्छ। सर्वसम्मत नेतृत्व चयन गरियो भने मात्र व्यवसायीको हितमा हुन्छ ।

निर्वाचन घोषणा स्वागतयोग्य छ : हंसराज वाग्ले,अध्यक्ष नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरम

संघले विधान बमोजिम निर्वाचन कमिटि बनाएर काम गर्नेगरी  नै निर्वाचन घोषणा गरेको छ, यो स्वागतयोग्य छ । व्यवसायीलाई कहाँ के समस्या पर्छन् भन्ने दोश्रो कुरा हो । साधारणसभा भनेको त व्यवसायीको चाड हो,  हाम्रो दशैं जस्तै हो, २/२ वर्षमा आउने चाड हो । चाडलाई त हर्षोउल्लासका साथ मनाउनुपर्यो । स्वच्छ प्रतिस्प्रधाबाट आउने नेतृत्वलाई जसले पनि स्वीकार गर्नुपर्छ। 

मैले एउटा गैरकानुनी कुरा सुन्दैछु, महासचिवको राजिनामा आयो रे,  यसपछि तत्कालै कसैलाई महासचिव बनाउंदै हुनुहुन्छ रे, उहाँलाई नै अध्यक्षको उम्मेदवार बनाउनुहुन्छ। 

निर्वाचन कार्यतालिका घोषणा गरिसकेपछि महासचिवको नाटकीय ढंगले राजिनामा गराएर मनोनित गराउनु भनेको आचारसंहिता विपरित हो । तर उहाँहरुको नैतिकता के हो भन्ने कुरा प्रश्न आउँछ । अर्को कुरा सर्वसम्मत नेतृत्व चयन गर्ने कुरा आएको छ, संघको इतिहास विगत ४०/४२ वर्ष भयो होला, विगत १२ वर्षदेखि मैले व्यवसाय गर्दै आएको छु म सघको सबै पदमा निर्वाचित भएर आएको व्यक्ति हुँ । यी कालखण्ड हेर्दाखेरी सबै पदमा सर्वसम्मत नेतृत्व चयन गर्ने कुरामा न हिजो पहल भयो, न आज हुन्छ, न भोलि नै हुन्छ, यो परिकल्पना मात्र हो । 

प्रजातान्त्रिक परिपाटीमा चुनावमा जाने हो, चुनावमा भाग लिन सबैले पाउनुपर्छ, चुनावबाट आउनेलाई सबैले स्वीकार गर्नुपर्छ, यो सर्वसहमति भन्ने कुरा नाटकीय रुप मात्र हो । हामीलाई नै सर्वसहमति दिए भने हुन सक्ला तर हामी उहाँहरुलाई सर्वसहमति दिन सक्दैनौं । 

१० गतेसम्म सर्वसहमतिका लागि प्रयास गर्ने नभए निर्वाचन भदौमा लैजाने कुरा आएको छ, यो कुनै पनि हालतमा हामी मान्देनौं, उहाँहरुले यो सपना नदेखे हुन्छ। हामी कुनै पनि हालतमा २७ गते चुनाव गराउछौं, कानून र विधान अनुरुप नै निर्वाचन हुन्छ । या त उहाँहरुले छोड्नुपर्छ। हामी निर्वाचनका लागि सम्पूर्ण तयारी गर्दैछौं, उहाँहरुको नाटक मन्चन सकिसकेको छ। बरु जाने बेलामा स-सम्मान बहिर्गमन हुनु नै मेरो/फोरमको सुझाव हो । सम्पूर्ण लोकतान्त्रिक निकट व्यवसायीको एउटा प्यानल हुन्छ, उम्मेद्वारी दिन्छौं, चुनाव प्रचारप्रसार पनि शुरु भैसक्यो। आगामी शुक्रबारसम्म सम्पूर्ण कार्यसमितिका लागि नाम घोषणा गर्छौं । कुनै पनि हालतमा चुनाव भएन भने यो कार्यकालको यिनीहरुका कालखण्डमा दुर्भाग्यमा ठहरिनेछन् त्यसको परिणाम के हुने पछि थाहा हुनेछ। 

निर्वाचनमा सहभागी हुँदैनौं  : चित्रगुप्त साँवा  लिम्बु,  अध्यक्ष,  प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च 

हामीले मंचको निर्णय सार्वजनिक गरिसकेका छौं । प्रगतिशील मंच र गणतान्त्रिक मंच विच एकीकरण हुने क्रममा छ।  तिनीहरु विचको समन्यव समिति छ, तिनीहरुले पनि निर्णय गरिसकेको छ । त्यसको निर्णय के हो भन्दाखेरी, 'अहिलेको परिस्थितिमा निर्वाचन सम्भव छैन' भन्ने हो । विधानत निर्वाचन हुनुपर्ने हो तर कहिलेकाँही व्यवसाय र त्यो व्यवसायको रक्षार्थ उनीहरुको हितका निम्ति साझा भावनालाई पनि बोक्नुपर्छ । 

संघले केहि समय अगाडी वृहत व्यवसायी भेला बोलाएर निर्वाचन एजेन्डा प्रस्तुत गरेको थियो, त्यो बेला व्यवसायीले अहिलेको अवस्थामा निर्वाचन आवश्यकता होइन भन्ने सुझाव दिएका थिए । किनकी अहिले व्यवसायीका समस्याहरु छन् ती समाधान गर्नुपर्ने बेला छ । सरकार पनि होकी होकी भन्ने अवस्थामा छ, यो बेलामा त संघले जवाफदेही ढंगले राज्यसँग लबिंङ्ग, वार्ता वार्गेनिङ गर्नुपर्यो, अर्कोतर्फ संघले आन्दोलन पनि गर्यो,अब अर्को चरणको आन्दोलन घोषणा गर्नुपर्नेछ । अर्कोतर्फ व्यवसायीलाई धरौटी व्यवस्थापन गर्नुपर्ने पनि छ,  यो बेला चुनावतिर दौडने कि आफ्नो समस्या रोजी रोटितिर लाग्ने हो ? त्यसकारण यी विविध समस्याले गर्दा अहिले निर्वाचन गरिनुहुन्न भन्ने हाम्रो ठहर हो, को अध्यक्ष हुने भन्ने कुरो ठुलो होइन । 

यदि कसैले निर्वाचनको चाहना गर्छन् भने तिनीहरु व्यवसायी विरोधी हुन् । किनभने आम व्यवसायीले त अहिले निर्वाचन गरिनुहुन्न, सबै कुरा व्यवस्थित गरेपछि गर्नुपर्छ भनिसकेका छन् । त्यसैले अहिले निर्वाचन आवश्यकता होइन भन्ने हो, निर्वाचन हुने भयो भने प्रगतिशिल मंचले यो खालको व्यवसायी विरोधी निर्वाचनमा भाग नलिने निर्णय गरेको छ र मंचले भाग लिंदैन ।  

मंचले भाग नलिएको निर्वाचन कस्तो निर्वाचन हो ? र त्यसले छानेको नेतृत्व कस्तो हुने ? अहिले सबै व्यवसायीलाई संकट छ । त्यसैले हामी पीडित भएका छौं । राज्यले पनि हामीलाई सहि व्यवस्थापन गरेको छैन त्यसकारण अहिले निर्वाचनमा भाग लिने भन्दा पनि यी व्यवस्थापन गर्नका निम्ति लाग्ने बेला हो । म निर्वाचनमा कसैलाई सहभागी नहुनको लागि आग्रह गर्छु, बेला आएपछि ती विषयहरुमा व्यवसायी विच संकल्प गर्छौं । असार ३० पछाडी कार्यसमितिको अस्तित्व रहँदैन कसले भनेको हो र ? जुनसुकै चिज पनि विषम परिस्थितिमा उसले अगाडी पछि व्यवस्थापन गर्न सक्छ। कहिलेकाँही व्यवसायीका पक्षमा गरिने निर्णयहरु विधान सम्मत हुन्छन् ।

अहिले निर्वाचन उपयुक्त होइन : सरोज पोखरेल, संस्थापक अध्यक्ष, प्रगतिशील मंच

निर्वाचन भन्दा पनि सर्वसम्मत गर्दा उपयुक्त हुन्छ । सरकारले वृद्धि गरेको रकम भदौ १८ भित्र राखिसक्नुपर्छ । त्यसमै व्यवसायी समस्या भई रहेको बेला हामीले व्यवसायीलाई सहयोग गर्ने बेलामा निर्वाचनमा जानु व्यवहारिक देखिंदैन होला । आफ्नो बैधानिक जटिलताहरु होलान् सहमतिमा जान सक्छौं, त्यो शिराबाट पनि छलफल गर्न सक्छौं । मलेसिया रोजगारी बन्द, धरौटी वृद्धि यावत समस्या छन् यी समस्या हेर्दा अहिले निर्वाचन उपयुक्त होइन । संघले निर्वाचन मिति घोषणा गरेको छ। यदि सर्वासहमतिले नेतृत्व छनौट गर्न सकिए सबै भन्दा उपयुक्त बिधि त्यहि हो,भएन भने पनि व्यवसायी एकतामा खलल नपुग्ने गरि व्यवसायीलाई सहयोग पुग्ने गरि हामी कुनै निकास निकाल्छौं । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!