बैदेशिक रोजगारीको क्रममा केन्या पुर्याईएका १२ नेपाली युवती पक्राउ, कारण यौन धन्दा

Posted on: 15 Apr, 2019

बैशाख २, काठमाडौँ (एजेन्सी) । बैदेशिक रोजगारीको क्रममा अबैध तरिकाले केन्य पुर्याईएका नेपाली युवतीहरु एक बारबाट पक्राउ परेका छन् । केन्या प्रहरीले यौन धन्दा र मानव तस्करीको कारवाहीका क्रममा १२ नेपाली युवतीलाई एक बारबाट पक्राउ गरेको हो । 

केन्याको दोश्रो ठूलो शहर मोम्बासाको न्याली क्षेत्रमा रहेको रङ्गीला बारमा छापा मार्ने क्रममा १२ नेपाली युवतीलाई नियन्त्रणमा लिइएको प्रहरीलाई उद्धृत गर्दै केन्याको द नेशन अखबारले लेखेको छ ।


प्रहरीले निकै लामो अनुसन्धानपछि गैरकानूनी यौन धन्दा तथा मानव तस्करी गर्ने गिरोहलाई लक्षित गरी कारवाही गरेको र कारवाही सफल भएको जनाएको छ । पक्राउ पर्ने नेपाली युवतीहरु तान्जानियासँग सीमा जोडिएको लुङ्गा–लुङ्गा नाकाबाट केन्यातर्फ तस्करी गरिएको प्रहरीको भनाइ छ । तर, उनीहरु मानव तस्करको फन्दामा परेर कसरी नेपालबाट केन्यासम्म आइपुगे भन्ने विषयमा अझै अनुसन्धान बाँकी नै रहेको जनाइएको छ ।

केन्या प्रहरीले बारका सञ्चालकलाई पनि नियन्त्रणमा लिएको छ । पक्राउ पर्ने बारका सञ्चालकको क्यानाडाको राहदानी रहेको भएपनि उनी क्यानेडियन नभएको प्रहरीले जानकारी दिएको छ । उनले कसरी क्यानाडाको नक्कली राहदानी प्राप्त गरे भन्ने विषयमा अनुसन्धान शुरु गरिएको अधिकारीहरुले जनाएका छन् ।


केन्याको प्रहरीले यौन धन्दा तथा मावन तस्कर गिरोहलाई लक्षित गरी आगामी दिनमा अझै वृहदस्तरमा कारवाही थालिने जनाएको छ । 

नेपाली युवतीहरुलाई यौन तस्करीको क्रममा केन्या ल्याई अवैध धन्दामा लगाउने गरिएको अधिकारीहरुले बताएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!