अन्नपूर्ण गाउँपालिकामा पर्यटन गुरुयोजना

Posted on: 08 Jul, 2020

असार २४, पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकाले पर्यटकीय गन्तव्यको प्रवद्र्धन गर्न पालिकास्तरीय पर्यटन गुरुयोजना बनाउने भएको छ । गाउँपालिकामा पर्यटनका धेरै सम्भावना भएकाले गुरुयोजना बनाएर पर्यटकीय पूर्वाधार निर्माण गर्र्ने र प्राकृतिक, ऐतिहासिक, धार्मिक, सांस्कृतिक पक्षलाई समेटी वृत्तचित्र बनाउने योजना अघि सारिएको छ । गाउँपालिकाका अध्यक्ष युवराज कुँवरका अनुसार गाउँपालिकालाई पर्यटन हवको रूपमा  स्थापित गर्न सामुदायिक होमस्टेको प्रवद्र्धन र सम्बद्र्धसाथै सांस्कृतिक मौलिकतालाई पर्यटन बजारमा उपयोग गरिने छ ।

“स्थानीय प्राङ्गारिक परिकारका साथ पर्यटन प्रवद्र्धनमा जोड दिएका छौं,” उहाँले भन्नुभयो, “विदेशी पर्यटकको वडा नं–८ विरेठाँटी र वडा नं– ७ को पोथनामा गणना गर्न पर्यटन सूचना केन्द्र बनाउने छौँ ।”पर्यटकीय गाउँ घान्द्रुकलाई सांस्कृतिक गाउँका रुपमा विकास गर्ने तयारी छ । सांस्कृतिक गाउँ घोषणाका लागि आवश्यक पूर्वाधार संरचना बनाएर परम्परागत सांस्कृतिक गाउँको पहिचान कायम गर्ने नीति लिइएको छ ।

विशेषतः गुरुङ संस्कृतिको जीवन्त सङ्ग्रहालय जस्तै रहेको घान्द्रुक प्राकृतिक रुपमा पनि उत्तिकै सुन्दर रहेको अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका अध्यक्ष ललित गुरुङ यसलाई सांस्कृतिक गाउँ घोषणा गर्नेे योजना महत्वपूर्ण भएको बताउनुहुन्छ । घान्द्रुकसहित समग्र अन्नपूर्ण गाउँपालिका पर्यटनमा धेरै सम्भावना रहेको उल्लेख गर्दै उहाँले सङ्घ, प्रदेश र स्थानीय तहको समन्वयमा पर्यटन लक्षित योजनालाई अघि बढाउनुपर्ने बताउनुभयो । समितिले समग्र अन्नपूर्ण क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न अन्नपूर्ण आधार शिविरदेखि घान्द्रुकसम्म वर्षेनि अन्तराष्ट्रियस्तरको अन्नपूर्ण म्याराथन सञ्चालन गर्दै आएको छ ।

घान्द्रुक प्राचीन बस्ती भए पनि यहाँको बस्ती विकास कहिलेबाट भयो भन्ने अझै यकिन तथ्य फेला नपरेको अधिवक्ता हरि भट्टराईले बताउनुभयो । घान्द्रुक गाउँमाथिको कोट मन्दिरमा विसं १७७९ को घण्टा फेला परेको उहाँले जानकारी दिनुभयो । यहाँ बसोवासका लागि सबै भन्दा पहिले मानिस कहाँबाट आए भन्ने सम्बन्धमा पनि दुई मत रहेको बताउँदै उहाँले भन्नुभयो,“कतिपयको मत लम्जुङको क्होलासोंथारबाट आएको भन्ने छ, कतिपयको मुस्ताङको कोवाङबाट आएको भन्ने छ ।” गाउँपालिकाभित्रका पर्यटकीय पदमार्गको विस्तार तथा मर्मत सम्भार गर्दै अन्नपूर्ण ग्रेटर पर्यटन पदमार्गको निर्माण गर्ने लक्ष्य राखिएको छ ।

स्थानीय मौलिक संस्कृति, भाषा एवं वेषभूषालाई यहाँको पर्यटन र उत्पादनसँग जोडेर विकास गरिने बताउँदै अध्यक्ष कुँवरले स्थानीय, भाषा, वेषभूषा, कला संस्कृतिको संरक्षण गर्न गुरुङ भाषाको पाठ्यक्रम तयार गर्ने नीति अङ्गिकार गरिने बताउनुभयो । सन् २०२२ लाई अन्तर्राष्ट्रिय पर्यटन वर्ष अभियान सञ्चालन भइरहेको तथ्यलाई दृष्टिगत गर्दै अन्नपूर्ण आधार शिविरमा पर्यटनको बसाइँ व्यवस्थित बनाउन सार्वजनिक जग्गामा रहेका लज एवं रेष्टुरेन्टमा निश्चित् कोठा थप गर्ने नीति अवलम्बन गरिने अध्यक्ष कुँवरले बताउनुभयो ।

पर्यटकको बसाइँ अवधि लम्ब्याउन घान्द्रुक डाँडागाउँको गुरुङ संस्कृति झल्कने सङ्ग्रहालय, मेलाचे पार्क, नौडाँडाको निर्माणाधीन भ्यु टावर, मणिको डाँडो, बराह पोखरी,  तालचियाउने गह्राको पार्क, शितल गुफा धार्मिक पर्यटक पार्क प्रवद्र्धन एवं सोही  स्थानमा निर्माणाधीन पार्कलाई व्यवस्थित बनाइने गाउँपालिकाको योजना छ । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!