विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा नक्कली माइन्युट खडा गरि राति २ बजे घोषणा

Posted on: 08 Mar, 2020


फागुन २५, बझाङ | बझाङको बित्थडचिर गाउँपालिकाको सुनकुडा माध्यमिक विद्यालयमा व्यवस्थापन समितिको अध्यक्ष चयनमा चरम राजनीतिकरण गरिएको छ | विना कुनै प्रकृया निवर्तमान अध्यक्ष रमेश अधिकारीलाई नै राती २ बजे पुनःअध्यक्ष घोषणा गरिएको हो |

विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयनका लागि फागुन २१ गतेको भेलामा ५४ जना उम्मेदवारले उम्मेद्वारी दर्ता गरेपछि सहमतिका लागि स्थगित गरिएको अभिभावकको भनाई छ | दिनभरी सहमति हुन नसक्दा राती १ बजेसम्म स्थानीयहरु स्कुल चौरमा सहमतिका लागि बसेका थिए | तर नसहमति भयो नत प्रकृया नै शुरु भयो ।

अभिभावकहरुले बताए अनुसार सबै अभिभावकहरु राती १ः३० बजे आ-आफ्नो घर फर्केका हुन् | तर अभिभावक फर्केपछि नेकपाका स्थानीय नेताहरुले राती करिब २ बजे नै नक्कली माइन्यूट खडा गरी अध्यक्ष घोषणा गरेका थिए |

भेलाको उपस्थितिलाई नक्कली माइन्युटमा प्रयोग

प्रारम्भिक भेलाका लागि हस्ताक्षर गरेको उपस्थितिलाई अन्तिम माइन्यूटको रुपमा प्रयोग गरी व्यवस्थापन समितिको अध्यक्ष चयन गरेका छन | उनीहरुले सुनकुडा माध्यमिक विद्यालयका प्रधानाध्यापक धन बहादुर विष्टलाई प्रभावमा पारेर राती २ बजे माइन्यूट गरेको स्थानीयको आरोप छ |

कुनै पनि प्रकृया विधिवत रुपमा अगाडि नबढाएर एकलौटी रुपमा गैरकानुनी घोषणा गरेको भन्दै अभिभावकहरु आन्दोलित भएका भएका छन् | यस सन्दर्भमा प्रधानाध्यापकसँग सम्पर्क गर्दा सम्पर्क हुन सकेन । आ- आफ्ना मान्छेको नक्कली हस्ताक्षर गरी प्रयोग गरेको जनाइएको छ |

एक जना अभिभावकले भने, हामी समान्य रुपमा उपस्थितिको लागि हस्ताक्षर गरेका हौ तर उनीहरुले त्यसको गलत प्रयोग गरे । यसमा हाम्रो सहमति छैन |

५४ जनाको उम्मेद्वारी, एकल घोषणा

विद्यालय व्यवस्थापन समितिको निर्वाचनका लागि प्रारम्भिक चरणमा ५४ जनाले उम्मेद्वारी दर्ता गराएको स्थानीयहरुले जनाएका छन् | उम्मेद्वारी दर्तापछि सहमतिको कुनै पहल भएन । नत मतदान प्रकृयाा अगाडि बढ्यो । तर राती एकाएक रमेश अधिकारीलाई अध्यक्ष घोषणा गरिएको कुरा सुन्दा आफू चकित भएको एक अभिभावकले बताए|

उनले भने, 'यसरी कुनै उम्मेदवारसँग सहमति नभई एकलौटी रुपमा भएको घोषणा गरिएको छ । यसको विरुद्धमा कानुनी उपचार खोज्ने छौं'

जनप्रतिनिधिहरुको असहमति

वित्थडचिर गाउपालिकाको वडा नम्बर ९ मा पर्ने यस विद्यालयमा वडाध्यक्ष पदेन सदस्य छन् तर वडाध्यक्ष कलक विष्टको अनुपस्थितिमा जबरजस्ती घोषणा गरेको छ | यसैगरी वडा नम्बर ७ र ८ का वडाध्यक्षहरुको पनि सहिमति नरहेको उनीहरुले जनाएका छन् |

एक स्राेत अनुसार गाउपालिका अध्यक्ष प्रेम बहादुर बोहरा पनि गैर कानुनी रुपमा घोषणा गरिएको प्रकृयाप्रति असन्तुष्ट रहेको जनाइएको हो | अध्यक्ष बोहरा सहमतिका लागि पहल गरिरहेका बेलामा एकाएक घोषणा भएपछि उनी असन्तुष्ट भएको जनाइएको छ |

भ्रष्टाचार ढाकछोपमा पुरानै अध्यक्ष

सुनकुडा माविमा भएको भ्रष्टाचारलाई ढाकछोप गर्न पुरानै अध्यक्ष दोहराएको स्थानीयले बताएका छन् । गएको वर्ष खाजा तथा खाना खर्च लगभग ६ लाख अनियमितता भएको जनाइएको छ | साथै विद्यालयको पर्खाल निर्माण ७ लाख र भवन निर्माण तथा प्रशासनिक खर्चमा अनियमितता भएको विभिन्न संचार माध्यमहरुले समाचार समेत प्रकाशन गरेका थिए |

केही आयोजना सम्पन्न हुन बाँकी भएकाले उक्त रकम खर्च गर्न पुनः अधिकारीलाई जबरजस्ती अध्यक्ष चयन गरिएको अभिभावकहरुले दाबी गरेका छन् | 

उत्कृष्ट विद्यालयको दयनीय अवस्था

सुनकुडा मावि सुदूरपश्चिममा उत्कृष्ट दश विद्यालयमा पर्दै आएको थियो । हिमाल साप्ताहिकले गरेको सर्वेक्षण अनुसार ५ वर्ष पहिले उत्कृष्ट विद्यालय रहेको जनाएको थियो ।

पछिल्लो ५ वर्षमा विद्यालयमा भएको राजनीति हस्तक्षेप तथा अनियमितता रुपमा भएको शिक्षक नियुक्तिले शिक्षाको स्तर खस्केको पछिल्लो परिणामले जनाएको छ । बझाङ जिल्लाकै उत्कृष्ट स्कुल अहिले कमजोर रिजल्ट ल्याउने विद्यालयमा परिणत भएको छ । 

जसले अहिले स्थानीय अभिभावकहरु आफ्ना छोराछारीलाई भर्नाको लागि बैकल्पिक विद्यालय छानौट गरिहेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!