नोबेल मेडिकल कलेजमा सामान्यरुपमै सुत्केरी भएकी एक महिलाको मृत्यु

Posted on: 31 Jul, 2019

साउन १५, बिराटनगर  | विराटनगरको  नोबेल मेडिकल कलेजमा सामान्यरुपमै सुत्केरी भएकी एक महिलाको मृत्यु भएको छ |  सोमबार प्रसूतिका लागि भर्ना भएकी सुनसरी झुम्काकी ३५ वर्षीय पार्वती कार्कीको मृत्यु भएको हो | उनले  मंगलबार बिहान १० बजे दोस्रो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी थिइन्  |

सामान्यरुपमै सुत्केरी भएकी कार्की अत्यधिक रक्तश्राव भएपछि चिकित्सकले मंगलबार दिउँसो २ बजे पाठेघर फाल्ने भन्दै अप्रेशन थिएटर लगेका थिए | पाठेघरको शल्यक्रियापछि उनलाई १७ प्रिन्ट ब्लड चढाएइएको थियो | तर, उनलाई बुधबार बिहान ३ बजे अस्पतालले मृत घोषणा गरेको हो | चिकित्सकको लापरबाहीले उनको मृत्यु  भएको भन्ने उनका आफन्तको आरोप छ | नर्मल डेलिभरी भएकी महिलाको रगत धेरै बग्दा पनि चिकित्सले उपचारमा चासो नदिएको उनका आफन्तको भनाई छ |

नर्मल डेलिभरी भएपछि वार्डमा सारेको केही समयपछि पार्वतीले खाना खान खोजेकी थिइन् ।  खाना खुवाउन खोज्दा उनी बेहोस भएर लडेपछि मात्र चिकित्सकले धेरै रगत बगेको भन्दै पाठेघर फाल्न लगेका थिए । ‘वार्डमा रगत रोक्ने प्रयास असफल भएपछि दिउँसो २ बजे पाठेघर फाल्नुपर्छ भन्दै अप्रेशन गर्न लागे,’ उनका आफन्तले भने |

मृतक कार्कीले दोस्रो सन्तानको रुपमा छोरी जन्माएकी थिइन् । बच्चाको स्वास्थ्य भने सामान्य छ । उनका श्रीमान वैदेशिक रोजगारीकालागि कतारमा छन् । यता अस्पताल प्रशासनले भने महिलाको मृत्युमा अस्पतालको लापरबाही नभएको धेरै रगत बगेका कारण महिलाको मृत्यु भएको बताएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!