एकाविहानै चीनबाट आईपुग्यो मेडिकल सामग्री, के-के ल्याइयो ?

Posted on: 29 Mar, 2020

चैत १६, काठमाडौँ | राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाजमार्फत चीनको ग्वाङजाओबाट मेडिकल सामग्री नेपाल ल्याइएको छ । औषधि उपचारजन्य सामग्री लिन निगमको वाइडबडी जहाज शनिबार दिउँसो ग्वाङ्जाओ गएको थियो ।

मेडिकल सामग्री बोकेर आएको वाइडबडी जहाज आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको निगमले जनाएको छ । उक्त जहाज आज बिहान ५:०० बजे काठमाडौँ आइपुगेको थियो ।

निगमका अपरेशन विभाग प्रमुख दीपु जुहार्चनका अनुसार ग्वाङ्जाओबाट करिब १३ हजार स्वास्थ्य सामग्री ल्याइएको छ । जुहार्चनले निगमका लागि शनिबार विशेष दिन भएको सामाजिक सञ्जाल फेसबुकमा ‘स्टाटस पोष्ट’ गर्नुभएको छ । उहाँले देश लकडाउनको अवस्थामा शनिबार निगमले बिहानदेखि लुक्लामा अलपत्र ७० विदेशी पर्यटकको उद्धार, नेपालगञ्जबाट कोभिड–१९ का स्वाब नमूना ल्याई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई हस्तान्तरण र चीनको ग्वाङ्जाओबाट लगभग १३ हजार केजी स्वास्थ्य सामग्री एयरलिफ्ट गरी काठमाडौँ ल्याएको बताउनुभएको छ । 

वाइडबडी जहाजले कोभिड–१९ परीक्षण गर्ने किट र पिपीइलगायतका औषधिजन्य सामग्री ल्याएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले अत्यावश्यक औषधि र अन्य मेडिकल उपकरण ल्याइएको जानकारी दिनुभयो । एक लाख पिपीई, ५० हजार कोभिड परीक्षण किट तथा व्यक्तिगत सुरक्षा उपकरण ल्याइएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!