ढुक्क हुनुस् : ‘कोरोनाजन्य महामारीको जोखिम सामाजिक सुरक्षा कोषले व्यहोछ’

Posted on: 25 Mar, 2020

मनोज पराजुली । चैत १२, काठमाडौं । चीनबाट शुरु भएको कोरोना भाइरस (कोभिड १९) का कारण यतिबेला विश्वमा महामारीको रुप लिइसकेको छ । विश्वका १ सय ९४ देशमा कोरोना संक्रमण देखिईसकेको छ । 

हालसम्म विश्वभर कोरोना संक्रमित संख्या ४ लाख २३ हजार ६ सय २१ पुगेको छ, भने १८ हजार ९ सय १२ जनाको मृत्यु भएको  छ । १ लाख ९ हजार १ सय ५४ जनामा संक्रमण देखिएपनि निको भैईसकेका छन् ।

कोरोनाको संक्रमण सबैभन्दा धेरै चीनमा देखिएको छ । बुधबार दिउँसोसम्म ८१ हजार २१८ जनामा संक्रमण देखिएको छ भने ३ हजार २८१ जनाको मृत्यु भैसकेको छ । चीनपछि बढी प्रभावित भएको देश इटाली रहेको छ, जहाँ चीनमा भन्दा कम संक्रमित संख्या रहेपनि मृत्यु हुनेको संख्या बढी रहेको छ । हालसम्म इटालीमा ६ हजार ८४२ जनाको मृत्यु भईसकेको छ । 

नेपालमा हालसम्म तीन जनामा कोरोना संक्रमण देखिएको छ । नेपालमा पनि कोरोनाको महामारी फैलिएसंगै सरकारले मंगलबारबाट देशभर लकडाउन गरेको छ । यहि विचमा कोरोनाको महामारीले कारण जोखिमको अवस्था आए के होला ? आम नागरिकमा चासोको विषय बनेको छ । सरकारले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष समेत खडा गरेर काम शुरु गरिसकेको छ । 

कोरोनाको कारण संक्रमित नागरिकको उपचार सरकारले जनाईसकेको छ । कोरोनाजन्य माहामारी होस् या अन्य जुनसुकै अवस्थाबाट हुनसक्ने सम्भावित जोखिमलाई बहन गर्ने विभिन्न माध्यम मध्ये एक हो, सामाजिक सुरक्षा कोष । 

नेपालमा पनि कोरोनाको महामारी देखिएपछि सामाजिक सुरक्षा कोषले जोखिम वहन गर्छ कि गर्दैन भन्दै जिज्ञासा आउनेक्रम बढेको कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवाली बताउंछन् । ‘अहिले कोरोनाको माहामारी देखिएर जिज्ञासा आएपनि कोषले विभिन्न कारणले हुने जोखिम वहन गर्ने नै छ’, उनले भने । 

सरकारले गतवर्ष मङ्सिर ११ बाट औपचारिक रुपमा सामाजिक सुरक्षा योजना कार्यन्वयनमा ल्याएको थियो । कोषले संचालन गरेको आश्रित परिवार सुरक्षा योजनाबाट योगदानकर्ताको मृत्यु भएमा पति वा पत्नीले पाउने निवृत्तभरण, सन्ततिले पाउने शैक्षिक वृत्ति, आश्रति वावु आमाले पाउने सुविधा, अन्तिम संस्कार खर्च उपलब्ध हुने व्यवस्था छ ।

दुर्घटना वा व्यवसायजन्य रोगका कारणबाट योगदानकर्ताको मृत्यु भएमा निजको पति वा पत्नीले योगदानकर्ताको अन्तिम आधारभूत पारिश्रमिकको साठी प्रतिशतको दरले निज जीवित रहेसम्म निवृत्तभरण पाउने छन् । 

योगदानकर्ताको मृत्यु भएको अवस्थामा निजको अठार वर्ष उमेर पुरा नभएको सन्तति रहेको अवस्थामा सो उमेर पुरा नभएसम्म त्यस्तो सन्ततिले शैक्षिक वृत्ति वापत योगदानकर्ताको अन्तिम आधारभूत पारिश्रमिकको चालीस प्रतिशत रकम मासिक रुपमा पाउनेछ । तर एक भन्दा वढी सन्तति सुविधा पाउने अवस्थाको भएमा आधारभूत पारिश्रमिकको साठी प्रतिशत रकमलाई दामासाहीले प्रदान गर्ने व्यवस्था छ ।

कुनै सन्तानले निरन्तर अध्ययनरत रहेमा त्यस्तो सुविधा एक्काइस वर्षको उमेर पुरा नभए सम्म पाउनेछन्  । जुनसुकै कारणले योगदानकर्ताको मुत्यु भएमा वा कुनै योगदानकर्ता स्थायी असक्षमता भई लामो समय सुविधा पाएपछि मृत्यु भएमा निजको अन्तिम संस्कारको लागि निजको नजिकको आश्रति परिवार सदस्य वा हकवालालाई पच्चीस हजार रुपैयाँ एकमुष्ठ उपलब्ध गराईने व्यवस्था पनि गरिएको छ ।

एकै दिन २ करोड जम्मा ५० लाख जम्मा

कोषमा फागुन १० गते एकैदिन करिव २ करोड ५० लाख रकम जम्मा भएको कोषका कार्यकारी निर्देशक ज्ञवालीले बताए । सोमबार जम्मा भएको यो रकम हालसम्मकै बढी रहेको उनले बताए । जसले श्रमिकको तलव कट्टी गरेर राख्नुभएको छ, उहाँहरुलाई यथासक्य छिटो कोषमा रकम जम्मा गर्न पनि उनले अनुरोध गरे । 

कोषमा जसले योगदान गर्नुभएको छ, उहाँको उपचारमा १ लाखसम्मको सुविधा छ, उनले भने ‘अन्य बीमा ले के गर्छ मलाई थाहा भएन, उपचारको हकमा कोषले दायित्व वहन गर्छ, मृत्युको हकमा पाउने योजनाहरु त पाइहाल्छ ।’ 

हालसम्म कति भए आवद्ध ?

कोषमा हालसम्म १२ हजार ३१५ रोजगारदाताका १ लाख ५३ हजार २२१ श्रमिक कोषमा आवद्ध रहेका कोषले जनाएको छ । ८६ करोड ४२ लाख रकम कोषमा संकलन भैईसकेको छ । ७४ जिल्ला सूचीकरण प्रक्रियामा समेटिएका छन् । 


हालसम्म कोषले दुर्घटना तथा अशक्तता सुरक्षा योजना अन्तर्गत ७ जनालाई भुक्तानी गरेको छ । औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना अन्तर्गत दावी भुक्तानी संख्या ८९ रहेको छ भने पेन्सन र उपदान योजना दावी भुक्त्तानी लिने संक्या ७ रहेको कोषले जनाएको छ । त्यस्तै आश्रित परिवार सुरक्षा योजना अन्तर्गत ६ जनालाई भुक्तानी गरिको कोषले जनाएको छ । 



यस बिषयमा तपाइको प्रतिक्रिया...!