डिजिटल कारोबारको सीमा बढ्यो, मोबाइलबाट १ दैनिक लाखसम्म कारोबार गर्न सकिने

Posted on: 22 Mar, 2020

चैत ९, काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानीको सीमा बढाएको छ । राष्ट्र बैंक भुक्तानी व्यवस्थापन विभागले आइतबार एक परिपत्र जारी गर्दै मोबाइटल तथा इन्टरनेटका माध्यमबाट गरिने र मोबाइल वालेटको माध्यमबाट गरिने फन्ड ट्रान्सफरको सीमा बढाएको हो ।

केन्द्रीय बैंकले मोबाइल बैंकिङ (क्युआर कोण समेत) बाट गर्ने कारोबारको सीमा दैनिक ५० हजारबाट बढाएर १ लाख र प्रतिमहिना २ लाख रुपैयाँबाट बढाएर १० लाख रुपैयाँ पुर्‍याएको छ ।  इन्टरनेट बैंकिङ (मर्चेन्ट पेमेन्ट र एकाउन्ट ट्रान्सफर) को कारोबार सीमा भने यथावत राखेको छ ।

इन्टरनेट बैंकिङ मर्चेन्ट पेमेन्टको सीमा प्रतिदिन १० लाख र प्रतिमहिना ३० लाख रहेको छ भने इन्टरनेट बैंकिङ एकाउन्ट ट्रान्फरको सीमा प्रतिदिन १० लाख र प्रतिमहिना ५० लाखसम्म रहेको छ । 

यस्तै केन्द्रीय बैंकले मोबाइल वालेटबाट अन्य बैंक खातामा रकम ट्रान्सफर अथवा भुक्तानी गर्ने सीमा पनि प्रतिकारोबार २५ हजार, प्रतिदिन एक लाख र प्रतिमहिना ५ लाख पुर्‍याएको छ । यसअधि यस्तो कारोबारको सीमा प्रतिदिन २५ हजार र प्रतिमहिना ५० हजार मात्रै रहेको थियो । 

केन्द्रीय बैंकले एक वालेटबाट अर्को वालेटमा रकम ट्रान्सफर गर्न सीमा पनि बढाएको छ । यसअघि प्रतिदिन २५ हजार र प्रतिमहिना ५० हजारको मात्रै कारोबार गर्न सकिने व्यवस्था रहेकोमा अब प्रतिकारोबार २५ हजार, प्रतिदिन ५० हजार र प्रतिमहिना ५ लाख सम्म कारोबार गर्न सकिने भएको छ । 

यता एजेन्ट वा सब एजेन्टबाट र बैंक खाताबारट वालेटमा रकम ट्रान्सफर गर्ने कारोबारको सीमा भने यथावत रहेको छ । 

यसअघि बैंक तथा वित्तीय संस्था र सेवा प्रदायकले अर्को सूचना नआएसम्मका लागि भन्दै डिजिटल कारोबार निःशुल्क गर्ने घोषणा गरिसकेका छन् । उनीहरूले नगद कारोबारमा कोरोनाको जोखिम भएको भन्दै डिजिटल कारोबार गर्न अपिल गर्दै निःशुल्क डिजिटल सेवा उपलब्ध गराउने घोषणा गरेका थिए । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!