समायोजित कर्मचारीको क्षमता वृध्दि गदै वित्त व्यवस्थापन तालिम केन्द्र

Posted on: 14 Aug, 2019

साउन २९, काठमाडौं । संघीय शासकीय प्रणाली अन्तरगतका कर्मचारीहरुलाई क्षमता विकास गरी कार्यदक्षता वृध्दि गर्ने उद्देश्यका साथ सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रले पहिलो पटक नवीन तालीम प्रणालीको शुरुवात गरेको छ। कर्मचारी संघ प्रदेश र स्थानीयतहमा समायोजन भएर गएपछि उनीहरुको क्षमता वृध्दि र वृत्तिविकास गर्न यस प्रकारको तालिम संचालन गरिएको सार्वजनिक वित्त व्यवस्थापन केन्द्र प्रमुख दामोदर रेग्मीले बताए । 

३२ कार्यदिन रहनेगरि मंगलबारवाट शुरु भएको आर्थिक प्रशासन सम्बन्धी तालिममा लेखा समूहका ३० जना कर्मचारी सहभागी जनाइएको छ। जसमा संघ, प्रदेश र स्थानीयतहमा समायोजन भएका कर्मचारीहरुको सहभागिता रहेको छ । यी कर्मचारीहरुले सार्वजनिक वित्त व्यवस्थापनका विविध आयाम,आर्थिक प्रशासन, सार्वजजिक खरिद, तीनै तहको आर्थिक कार्य प्रणाली, बजेट, वित्त हस्तान्तरण, आन्तरिक नियन्त्रण प्रणाली, आन्तरिक र अन्तिम लेखा परीक्षण, प्रतिवेदन प्रणालीका वारेमा सैध्दान्तिक, व्यवहारिक तालिमलिनेछन् र मामिला अध्ययन तयार गरी त्यसको प्रस्तुति गर्ने जनाइएको छ। 

तालिममा महालेखा नियन्त्रक सूर्य प्रसाद गौतमले संघीय आर्थिक प्रशासनलाई मर्यादित वनाउन लेखा अधिकृतहरुको भूमिका प्रभावकारी रहनु पर्ने बताए । उप महालेखापरीक्षक रामु प्रसाद डोटेलले स्वच्छ र पारदर्शी आर्थिक प्रशासन अहिलेको अपरिहार्य आवश्यकता रहेको बताए । तालिम प्रमुख दामोदर रेग्मीले कार्यक्षेत्रमा प्रभावकारी उपस्थिति रहने गरी तालिम कार्यक्रम संचालन गर्न प्रतिबध्द रहेको भन्दै विहिबार देखि राजस्व समूहका ३० जनाको लागि संघीय राजस्व प्रणाली र यसको प्रभावकारिता वारे तालिम रहने जानकारी दिए।  राजस्व, आर्थिक प्रशासन र लेखा परीक्षण प्रशासनको क्षमता विकासको लागि सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रले आफ्रना तालिम कार्यक्रम र प्रकाशनहरुलाई अन्तर्राष्ट्रिय मान्यता अनुकुल बनाउदै लगेको उनले बताए साथै आगामी दिनमा संघीय संरचना अनुरुप तालिमहरुलाई वढी व्यवहारोपयोगी वनाउदै लगिने उनले बताए । मंगलबार मात्र राजस्व चुहावट नियन्त्रण र सम्पत्तिशुध्दीकरण नियन्त्रणको अनुसन्धानप्रक्रियालाई प्रभावकारी वनाउने उपायको वारेमा एक हप्ते तालिम समापन भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!