श्री एयरलाइन्सद्वारा अन्तरराष्ट्रिय क्षेत्रमा चार्टर्ड उडान शुरु

Posted on: 12 Aug, 2019

साउन २७, काठमाडौँ | निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले अन्तरराष्ट्रिय क्षेत्रमा चार्टर्ड उडान शुरु गरेको छ । नेपाल भ्रमण वर्ष २०२० अभियानलाई लक्षित गर्दै कम्पनीले भारतको वनारसमा आज परीक्षण उडान (प्रभिङ फ्लाइट) गरेको एयरलाइन्सका संस्थागत प्रबन्धक अनिल मानन्धरले राससलाई जानकारी दिनुभयो । 

उहाँका अनुसार ५० सिट क्षमताको सिआरजे २०० र ७० सिट क्षमताको सिआरजे ७०० जहाजबाट बनारस गन्तब्यको उडान भर्नेछ । उडान अनुमति पाएपछि भारतका अन्य गन्तब्यमा पनि उडान विस्तार गर्ने कम्पनीको योजना छ । श्री एयरलाइन्ससँग चार वटा दुई सिआरजे २०० र सिआरजे ७०० जहाज छन् ।

वनारसमा चार्डर्ड उडानका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट श्री एयरलाइन्सले अनुमति पाएको थियो । यो परीक्षण उडानपछि नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बाट विमान उडान अनुमतिपत्र (एओसी) पाउनेछ ।


अन्तरराष्ट्रिय गन्तब्यमा उडानका लागि पर्यटन मन्त्रालयलाई निवेदन दिएको सोही आधारमा परीक्षण उडान भरेपछि मन्त्रालयको प्रक्रिया पूरा गरी प्राधिकरणले एओसी दिने जनाइएको छ । एयरलाइन्सले व्यावसायिक उडान गर्नुपूर्व नियामक निकायको मापदण्डबमोजिम सक्षमता परीक्षण उडान गर्नुपर्ने हुन्छ । 

भारतका विभिन्न गन्तब्यमा उडान सञ्चालनका लागि छ महीनाअघि अनुमति पाएको र सोही आधारमा परीक्षण उडान गरिएको कम्पनीले उल्लेख गरेको छ । सन् २०१७ देखि फिक्स्ड विङबाट नियमित उडान शुरु गरेको एयरलाइन्सले हाल आन्तरिकतर्फ चन्द्रगढी, विराटनगर, नेपालगञ्जलगायत गन्तब्यमा उडान भर्दै आएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!