तीन दिनदेखि विद्युत् आपूर्ति बन्द

Posted on: 09 Jun, 2019


जेठ २६ ,दैलेख(रासस ) दैलेखमा तीन दिनदेखि विद्युत् आपूर्ति बन्द भएको छ । हावाहुरीसँगै पोल ढलेका कारण शुक्रबारदेखि विद्युत आपूर्ति बन्द भएको हो ।  विद्युत् आपूर्ति नहुँदा स्थानीयवासीले सास्ती व्यहोर्नुपरेको छ । सुर्खेतको गरगरेमा छ वटा बिजुलीका पोल ढलेको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र दैलेख प्रमुख धीरेन्द्र बजगाईंले बताउनुभयो । उहाँले ढलेको पोल बनाइसकेको , रातानाङलासम्म विद्युत सेवा आपूर्ति भएको र दैलेख तर्फको विद्युत लाइन मर्मत गरिरहेको बताउनुभयो ।

विद्युत आपूर्ति नहुँदा सरकारी कार्यालयको कामसमेत प्रभावित भएका छन् । दैलेखका दुई वटै सामुदायिक रेडियो र स्थानीय पत्रपत्रिकाहरु बन्द भएका छन भने व्यवसायसमेत ठप्प छन् । विद्युत् आपूर्ति नहुँदा यहाँका सरकारी कार्यालयले सेवाग्राहीलाई सहज सेवा दिन सकेका छैनन् । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र दैलेखले विद्युत् सेवा नियमित गर्न बेवास्था गरेको स्थानीयवासीको गुनासो छ ।त्यसैगरी दैलेखका आम नागरिक अघोषितरूपमा हुने लोडसेडिङको मारमा परेका छन् । अघोषित लोडसेडिङले आम उपभोक्ताको जनजीवन कष्टकर बन्दै गएको छ ।आधिकारिकरूपमा लोडसेडिङ नगरे पनि अघोषित लोडसेडिङ घण्टैपिच्छे हुने गरेको छ । घण्टैपिच्छे हुने अघोषित लोडसेडिङले आम उपभोक्ता ग्रसित छन् । घण्टैपिच्छेझ्याप्प–झ्याप्पजाने विद्युत् सेवाले आम उपभोक्तामा मात्रै होइन, अत्यावश्यक सेवा क्षेत्र अस्पताल, यातायात, सञ्चारलगायत प्रभावित बनेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!