कालीगण्डकीमा रोकिएका पक्की पुल निर्माण शुरु गरिने

Posted on: 22 Feb, 2019

फागुन १०, बेझाड | कालीगण्डकीमा निर्माणकार्य रोकिएका पक्की पुल तत्काल सञ्चालन गरिने भएको छ । पाल्पाको रामपुर र चापाकोट जोड्ने प्याक्लुकघाट र निर्दिमघाटको पुल शिलान्यास भएर पनि लामो समय बितिसक्दा निर्माण प्रक्रिया अगाडि बढ्न सकेको छैन । 

सो पुल तत्काल निर्माण गर्न प्रक्रिया अगाडि बढाउने नेपाल सरकारका मुख्यसचिव लोकदर्शन रेग्मीले बताउनुभयो । बिहीबार कालीगण्डकीका विभिन्न घाटमा निर्माण भइरहेका र हुन लागेका पक्की पुलको अवलोकन गर्दै मुख्यसचिव रेग्मीले पुल नबन्दा आवतजावतमा स्थानीयवासीले खेप्दै आएको समस्यालाई अब छिट्टै नै निर्माण प्रक्रिया अगाडि बढाएर समाधान गरिने बताउनुभयो । 

पाल्पाको रामपुर नगरपालिका–६ र स्याङ्जाको चापाकोट नगरपालिका–८ दामाचौर जोड्ने प्याक्लुकघाटको पुल पाल्पा र स्याङ्जाका दुवै भागमा ‘डिजाइन’ परिवर्तन गर्नुपर्ने भएकाले मन्त्रालयले स्वीकृति नदिँदा काम सञ्चालन हुनसकेको छैन । एलिट एसबिए जेभी कम्पनीले २०६८ असार ३० गते ठेक्का सम्झौता गरी २०७१ असार मसान्तसम्म सम्पन्न गर्ने म्याद रहे पनि अहिलेसम्म पुल निर्माणको काम डिजाइनमा नै रोकिएको छ । 

सो पुलको लम्बाइ १८० मिटर र चौडाइ नौ मिटर रहने गरी रु १५ करोड ६८ लाख लागतमा ठेक्का सम्झौता भएको हो । शिलान्यास भएको लामो समयसम्म पुल निर्माण प्रक्रिया डिजाइनमै रहँदा यसप्रति धेरैको चासो देखिएको छ । 

त्यस्तै रामपुर नगरपालिका–८ र स्याङ्जाको चापाकोट नगरपालिका–९ जोड्ने निर्दिमघाट पुलको अवस्था पनि प्याक्लुकघाटकै जस्तै छ । रु १२ करोड ५३ लाख लागतमा कन्काई नेपाल प्रगति मिलेनियम जेभी कम्पनीले २०६८ असार ३० गते सम्झौता गरी तीन वर्षमा काम सम्पन्न गर्ने गरी जिम्मा लिएको थियो । 

कूल १५० मिटर लम्बाइ र छ मिटर चौडाइ रहेको पुलको पाल्पा जिल्लाको भागमा केही काम भएपछि स्याङ्जातिरको भागमा डिजाइन परिवर्तनकै कारणले निर्माण प्रक्रिया अगाडि बढ्न सकेको छैन । नयाँ डिजाइनका लागि विभागमा पेश भएको लामो समय बितिसक्दा पनि पुल निर्माण प्रक्रिया अगाडि बढ्न नसकेपछि मुख्यसचिव रेग्मीलाई यहाँका स्थानीयवासीले तत्काल काम शुरु गर्न अनुरोध गरेका छन् । 

मुख्यसचिव रेग्मीसहित सडक विभागका उपमहानिर्देशक दीपक भट्टराई, सडक डिभिजन कार्यालय पाल्पा, रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापा, चापाकोट नगरपालिकाका प्रतिनिधिसहितको टोलीले कालीगण्डकीका विभिन्न पुलको अनुगमन अवलोकन गरेको थियो । 

अनुगमनका क्रममा मुख्यसचिव रेग्मीले रामपुर नगरपालिका–६ र चापाकोट नगरपालिका–७ जोड्ने निर्माणाधीन अवस्थामा रहेको गौरीघाटको पुललाई जतिसक्दो चाँडो सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गर्नुभयो । उहाँले पुलले कालीगण्डकीबेँसी उपत्यकाको आर्थिक समृद्धि बढाउने भएकाले पनि पुल निर्माणमा ढिलाइ गर्न नहुने बताउनुभयो । 

मुख्यसचिव रेग्मीले धार्मिक तथा पर्यटकीय ऐतिहासिक केलादी मन्दिर, चापाकोटको प्राविधिक शिक्षालय, चापाकोट अस्पताललगायतका विभिन्न स्थानको अवलोकनसमेत गर्नुभयो । मुख्यसचिव रेग्मीलाई रामपुर नगरपालिकाका नगरप्रमुख थापाले यस क्षेत्रका विकास निर्माण, आवश्यकताबारे जानकारी गराउनुभएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!