चार करोडको लागतमा पक्की कुलो

Posted on: 11 Jan, 2018

  पुस २७ इलाम (रासस) | जिल्लाको एकतप्पामा पक्की कुलो निर्माण धमाधम भइरहेको छ । 

एकतप्पाको रूपटार, पितामरूङ, खम्वुवा, दोकानडाँडा, हाङमासुली लगायतका क्षेत्रलाई समेट्ने गरी रु चार करोडको लागतमा पक्की कूलो निर्माण भइरहेको हो । 

आकाशे पानीको भर पर्नुपर्ने यहाँका किसानका लागि उक्त कुलो बरदान साबित हुने भएको छ । सिँचाइ विकास डिभिजन कार्यालयले सो कुलो निर्माण गर्न लागेको हो । 

गत वर्षदेखि कुलो निर्माण थालिएको उपभोक्ता समितिका अध्यक्ष दिलबहादुर योङहाङ बताउनुहुन्छ । देउमाई नगरपालिका र एकतप्पाबीचमा पर्ने ह्वेङ्मा खोलाबाट देउमाई ह्वेङ्मा खोला सिँचाइ कुलोले एकतप्पामा सिँचाइ सुविधा पुग्नेछ । करिब १२ किलोमिटर लामो सिँचाइ कुलोले एकतप्पाका एक हजार ५०० घरधुरी लाभान्वित हुने अध्यक्ष योङहाङ बताउनुहुन्छ । अहिलेसम्म करिब चार किलोमिटर कुलो निर्माण भइसकेको छ । 

यहाँका किसानले कुलो निर्माण शुरु भएपछि राहत महसुश गरेका छन् । “सागसब्जी लगाउन पाइँदैन्थ्यो, कुलो बनेपछि तरकारी उत्पादन शुरु गरेका छौँ,” योङहाङले भन्नुभयो । 

पाँचथर र इलामका गरी ८० जना मजदुर कुलो निर्माणमा जुटेका छन् । यहाँको रूपटार, पितामरूङ र खम्बुवा अन्नको भण्डार नै मानिन्छ । मलिलो माटो भएकाले उब्जनी पर्याप्त मात्रामा हुने गरेको वडा नं ७ का वडाध्यक्ष लोकबहादुर गोदारले बताउनुभयो । 

करिब तीन वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने सो कुलोले एकतप्पाको ५०० रोपनीभन्दा बढी जग्गा सिञ्चित हुने बताइएको छ । 

––– 

यस बिषयमा तपाइको प्रतिक्रिया...!