इलाममा एकसय तीनवटा परियोजनालाई ४० करोड ३० लाख

Posted on: 07 Sep, 2017

भदौ २२, इलाम। कृषि उत्पादनमा मूल्य शृङ्खलाको विकासमार्फत बजार पहुँच तथा मूल्य अभिवृद्धि गर्ने उद्देश्यले जिल्लाका १०३ वटा परियोजनालाई रु ४० करोड ३० लाख ४४ हजारको सहयोग उपलब्ध गराइएको छ । 

कृषि मन्त्रालय र डेनमार्क सरकारको सहयोगमा ती परियोजनाको कार्य अगाडी बढाउन सहयोग सम्झौता गरिएको हो । चिया, अलैँची, अदुवा र डेरीमा मूल्य शृङ्खला विकासका लागि प्रविधि प्रवद्र्धनमा उक्त सहयोग गरिएको उन्नति समावेशी कार्यालयले जनाएको छ । 

कार्यक्रमले ५६ वटा चियासम्बन्धी परियोजनालाई रु २६ करोड ८० लाख ३३ हजार स्वीकृत गरेको छ । डेरीसम्बन्धी २९ वटा परियोजनालाई रु नौ करोड १३ लाख ६३ हजार र अलैँचीसम्बन्धी १५ वटा परियोजनालाई रु तीन करोड ७५ लाख ७५ हजार स्वीकृत गरेको हो । अदुवासम्बन्धी तीनवटा परियोजनालाई रु ६० लाख ७२ हजार स्वीकृत गरेको छ । 

चियाका २० परियोजनामा गत असार मसान्तसम्ममा रु चार करोड २१ लाख ५१ हजार निकासा भई काम भइरहेको छ । सो अवधिमा डेरीका आठ परियोजनामा रु ६८ लाख ३३ हजार, अलैँचीका चार परियोजनामा रु २४ लाख ३८ हजार र अदुवाका दुई परियोजनामा रु १२ लाख ३४ हजार निकासा गरी काम भइरहेको छ । 

उन्नति समावेशी कार्यालयका कर्मचारी शिवलाल कार्कीका अनुसार ती परियोजनाबाट १७ हजार ११८ घरधुरी लाभान्वित हुने छन् । चियाका ५६ परियोजनाबाट सात हजार ८७० घरपरिवार, डेरीका २९ परियोजनाबाट पाँच हजार ३७८, अलैँचीका १५ परियोजनाबाट दुई हजार ७३० तथा अदुवाका तीन परियोजनाबाट एक हजार १४० घरपरिवार लाभान्वित हुने छन् । 

उन्नतिले प्रत्यक्ष अनुदानअन्तर्गत २३ वटा अदुवाखेतीसम्बन्धी कार्यरत समूहलाई रु २१ लाख ९८ हजार सहयोग उपलब्ध गराउने भएको छ । उन्नति च्यालेञ्ज फण्डअन्तर्गत कृषि फार्म, सहकारी संस्था, समूह तथा गैरसरकारी संस्थाको परियोजना स्वीकृत गरी सहयोग गर्न थालिएको हो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!