डोटीमा आँखा पाक्ने रोगको महामारी

Posted on: 31 May, 2019

जेठ १७, डोटी । जिल्लामा पछिल्लो समय एकाएक गर्मी बढेसँगै आँखा पाक्ने रोगको महामारी फैलिएको छ । शुरुशुरुमा आँखा चिलाउने तथा पछि गएर आँखा रातो हुने र आँखाबाट पानी बग्ने यसको प्रमुख लक्षण भएको शैलेश्वरी अस्पताल दिपायल पिपल्लाका डा निशान्त ढकालले बताउनुभयो । उहाँले भन्नुभयो, “गर्मी र दूषित हावापानीका कारण यो रोग सर्छ, त्यति आत्तिनु पर्दैन ।”

जिल्ला अस्पताल डोटीका अनुसार गर्मीका कारण आँखा पाक्ने बिरामीको सङ्ख्या अस्पतालमा दिनहुँ एक दजर्न बढी पुग्ने गरेको छ । यतिमात्र नभई यहाँका निजी मेडिकल तथा क्लिनिकमा पनि आँखा पाक्ने बिरामीको दैनिक भीड लाग्ने गरेको छ । दिपायल राजपुरस्थित पाण्डेय मेडिकलका हरिस पाण्डेयका अनुसार आँखा पाक्ने रोगबाट सबैभन्दा बढी स्कूले केटाकेटी तथा वृद्धवृद्धा पीडित बनेका छन् । यहाँका ग्रामीण क्षेत्रमा समेत यो रोगले विगत केही दिनयतादेखि विकराल रूप लिएको केआईसिंह गाउँपालिका–२ वासुदेवीका स्थानीयवासी शेरबहादुर ऐरले बताउनुभयो ।

उहाँले भन्नुभयो, “केही दिनयतादेखि गाउँमा आँखा पाक्ने रोग शुरु भएको छ, आँखा पाक्न थालेपछि विद्यार्थीको स्कूल जानसमेत बन्द भएको छ ।” जिल्ला स्वास्थ्य कार्यालय डोटीका अनुगमन तथा मूल्याङ्कन अधिकृत टेकराज ओझाका अनुसार फोहर, धुलो धुवासँगै ‘व्याक्टेरिया’ तथा व्यक्तिगत स्वास्थ्य कमजोर भएका कारण आँखाको रोग एकअर्कामा सर्ने बढी सम्भावना हुने गरेको छ । सधैँ सफा र चिसोपानीले आँखा, मुख धुने तथा चर्को गर्मीमा नहिँड्ने तथा हिँड्नै परे चश्माको प्रयोग गरे यो रोग एकअर्कामा सर्ने सम्भावना कम हुनेसमेत अधिकृत ओझाले बताउनुभयो ।

 त्यसैगरी गर्मी बढेसँगै दिपालयको प्रमुख व्यापारिक केन्द्र पिपल्ला बजार पनि दुर्गन्धित बनेको छ । जिल्लामा दिउँसोको समयमा तापक्रम ३० देखि ३५ डिग्री सेल्सियससम्म पुग्ने गरेको मौसम पूर्वानुमान शाखा दिपायलले जनाएको छ । गर्मीयामसँगै बजारमा खुला तथा छाडारूपमा छोडिएका चौपायाले गर्ने फोहरका कारण यो समस्या झन बढेको शैलेश्वरी अस्पताल दिपायल पिपल्लाका अहेव लोकेन्द्र बोहराले बताउनुभयो ।

उहाँले भन्नुभयो, “फोहर व्यवस्थापनका लागि सरोकारवाला निकायको ध्यान जानु आवश्यक छ ।” विद्यार्थीमा आँखा पाक्ने रोग फैलिन थालेपछि स्कूलको पढाइसमेत प्रभावित बन्न थालेको दिपायलस्थित दिल्पेश्वर माविका शिक्षक गोविन्दराज जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “विद्यार्थीमा आँखा पाक्ने रोग फैलिन थालेका कारण अरु विद्यार्थीमा सर्ने डरका कारण विद्यालयको पढाइसमेत दिनहुँ प्रभावित बन्न थालेको छ ।”

यस बिषयमा तपाइको प्रतिक्रिया...!