काठेपुल भाँच्चियो, सवारी साधन आवतजावत बन्द

Posted on: 14 Sep, 2020

भदौ २९, डोल्पा । यहाँको ठूलीभेरी नगरपालिका–८ मा पर्ने रुपगाढ खोलाको काठेपुल भाँच्चिएको छ । गत सोमबार बिहान त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने सुपानीबाट खाद्य सामग्री बोकेर सदरमुकाम दुनैतर्फ आउँदै गरेको ट्र्याक्टरको भार थाम्न नसकेर पुल भाँच्चिएको हो । 

बीचमा पुगेलगत्तै काठको पुल भाँच्चिएपछि ट्र्याक्टर पनि बीचमै फसेको स्थानीयवासी बिर्खबहादुर रोकायले जानकारी दिनुभयो । पुल भाँच्चिएपछि सवारी साधन आवतजावत ठप्प भएको छ । अब अत्यावश्यक कामले सदरमुकाम दुनै पुग्ने बिरामी र सर्वसाधारणलाई  १३ किमी सडकमा दुई  गाडी परिवर्तन गर्नुपर्ने भएको छ ।

तीन करोडको पुल खोइ 

तत्कालीन जिल्ला विकास समितिको रु तीन करोडको लागतमा जिल्ला प्राविधिक कार्यालयले रेखदेख गर्ने गरी २०७३ सालमा पक्की मोटरेबल पुलको निर्माण शुरु गरिएको थियो । सो वर्ष टेण्डरमार्फत मित्र सञ्जीवनी कन्स्ट्रक्सन प्रालिका प्रोप्राइटर गौरी उप्रेतीले एक वर्षभित्रमा पुलको निमार्ण कार्य पूरा गर्ने गरी कामको जिम्मेवारी डोल्पाकै हिम बुढालाई दिनुभएको थियो । 

पुल निमार्णको जिम्मेवारी पाएको मित्र सञ्जीवनी कन्स्ट्रक्सन प्रालिका प्रोप्राइटर उप्रेतीका डोल्पा प्रतिनिधि बुढाले काम गरेको रकमसमेत हालसम्म नपाएकाले काम रोकिएको बताउनुभयो । निमार्ण व्यवसायी बुढाले पेश्कीस्वरूप लगेको रकमले स्थानीय ढुङ्गा, गिटी र बालुवा सङ्कलन तथा पुलको दुवैतर्फको पिलर र खाल्डा खन्ने काममा खर्च भएको बताउनुभयो ।

तत्कालीन जिविसबाट पुल निर्माण शीर्षकमा रु दुई करोड ७० लाखभन्दा बढी रकम भुक्तानी लिइसकेको स्रोतको दावी छ । पुल निमार्ण सम्पन्न गरिसक्नुपर्ने समयावधि विसं २०७४ चैतसम्म भए पनि तीन पटकसम्म म्याद थप गर्दासमेत निर्माण पूरा भएको छैन ।

जोखिम मोलेर सवारी यात्रा

समयमै पुल निमार्ण कार्य पूरा नहुँदा अहिले सदरमुकाम दुनै भित्रिने यातायातका साधनहरू जोखिम मोलेर काठकोे पुलमार्फत ओहरदोहर गरिरहेका छन् । काठको पुलबाटै गाडीहरू वारपार गर्दा कुनै दिन ठूलो मानवीय दुर्घटना हुनसक्ने जीप चालक सुशील कठायतले बताउनुभयो ।

दुर्घटनापछि चिन्ता व्यक्त गर्नुभन्दा समयमै पुल निर्माण गरेर सहजरूपमा यातायात सञ्चालन गर्ने वातावरण मिलाउन उहाँले माग गर्नुभयो । अघिपछि भन्दा बर्खायाममा खोला बढेको बेला वारपार गर्न एकदमै जोखिम हुने उहाँको भनाइ छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!