बलाङ्ग्रामा २७ वर्षपछि चौँरी फार्म पुनःस्थापना

Posted on: 16 Nov, 2019

कात्तिक ३०, डोल्पा । बलाङ्ग्रा लेकमा चौँरी फार्म पुनःस्थापना गरिने भएको छ । विसं २०३५ मा स्थापना भएको उक्त चौँरी फार्म बन्द भएको २७ वर्षपछि पुनःस्थापना गरिन लागेको हो ।

उक्त फार्म स्थापनापछि १४ वर्ष लगातार सञ्चालनमा रहे पनि तत्कालीन समयमा राजनीतिक खिचातानीका कारण विसं २०४९ मा बन्द भएको थियो । त्यतिबेला स्थानीयलाई रोजगारी प्रदान गर्नेसँगै चौँरी प्रजनन, ऊन उत्पादन, दुग्धजन्य वस्तुजस्तै दूध, दही, घ्यू, चिज उत्पादन र चौँरीका साँढ उत्पादन गरेर बिक्री वितरण गर्ने उद्देश्यका साथ सरकारीस्तरबाटै चौँरी फार्म स्थापना गरिएको थियो ।

हाल भग्नावशेषमा सीमित उक्त चौँरी फार्म सङ्घीय सरकार कृषि तथा पशुपक्षी विकास मन्त्रालय र कर्णाली प्रदेशको भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको आर्थिक सहयोगमा पुनःस्थापना हुन लागेको हो । फार्म सञ्चालनका लागि केन्द्र र प्रदेश सरकार दुई मन्त्रालयले संयुक्तरुपमा बजेट विनियोजन गरेका छन् । उक्त बजेट जिल्लामा आइसकेकाले केही समयभित्रै बोलपत्र गरेर भवन पुनःनिर्माण गर्ने पशु अस्पतालले जनाएको छ ।

त्रिपुरासुन्दरी नगरपालिका–११ मा पर्ने बलाङ्ग्रा लेकमा फार्म पुनःस्थापना गर्न रु एक करोड बजेट लाग्ने प्रमुख चन्द्रलाल धरलाले जानकारी दिनुभयो । उक्त बजेटबाट भग्नावशेषका रुपमा रहेका भवन पुनःनिर्माण गर्ने, गोठ बनाउने, गोठाला निवास बनाउने, चौँरी खरीदलगायतका कार्य गर्ने धरलाले बताउनुभयो । बाबुबाजेको पालादेखिनै चौँरीपालन व्यवसाय गर्दै आएका बन्तडीवासीले अहिले पनि व्यक्तिगतरुपमा सो व्यवसाय गरिरहेका छन् । 

फार्म पुनःस्थापनाका लागि बजेट आएपछि पुरानै चौँरी फार्म स्थापना गर्ने वर्षौंदेखिको सपना साकार भएको स्थानीय देवी घर्तीले बताउनुभयो । लामो समयदेखि बन्द भएको चौँरी फार्म पुनःस्थापनाका लागि पटकपटक तीनवटै तहका सरकारसँग आग्रह गर्दै आए पनि अहिले आएर माग पूरा भएको स्थानीयले बताएका छन् । 

चौँरी फार्म पुनः स्थापनासँगै गाउँमा रोजगारीका अवसर सिर्जना हुने भन्दै स्थानीयले खुशी व्यक्त गरेका छन् । आफू तत्कालीन जिल्ला विकास समितिको सभापति हुँदा आन्तरिक व्यवस्थापन गर्न समस्या भएपछि पहिलेको चौँरी फार्म बन्द गरिएको बताउँदै अब त्यसरी बन्द हुन नदिने नगरप्रमुख ओमबहादुर बुढाले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!