दुनै एक सातादेखि अन्धकारमा

Posted on: 23 Feb, 2019

फागुन ११, डोल्पा | जिल्ला सदरमुकाम दुनै एक सातादेखि अन्धकार भएको छ । 

दुनैमा पर्ने जैरीगाड जलविद्युत् आयोजनाको नहरमा पहिरो जाँदा विद्युत् सेवा बन्द भएको हो । विद्युत् उत्पादन केन्द्रको नहरमा ७० मिटर माथिबाट खसेको सुख्खा पहिरोका कारण ६० मिटर नहर भत्किएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । 

पहिरोले नहरमा गाडिएका फलामका पाइप भाँच्चिएका छन् । विद्युत् आपूर्ति बन्द भएपछि सदुरमुकाम दुनैसहित आसपासका एक हजार २०० घरधुरी विद्युत् सेवाबाट वञ्चित भएका छन् । पहिरो पन्छाएर विद्युत् सेवा सूचारु गर्न करीब एक महीना लाग्ने स्थलगत अनुगमनमा पुगेका सरोकारवालाले बताएका छन् । 

उक्त जलविद्युत् आयोजना पटक–पटक अवरुद्ध हुँदै आएको छ । एक वर्षमा चार महीना मुस्किलले विद्युत् सेवा लिँदै आएका दुनैवासीले कैयौँ रात अन्धकारमै गुजार्नुपर्ने बाध्यता रहेको स्थानीयवासी ओमेन्द्र केसीले बताउनुभयो । 

तत्काल सबै निकायको बैठक बसी अनुदान र जनश्रमदानबाट विद्युत् सेवा सञ्चालनका लागि प्रक्रिया अगाडि बढाइने ठूलीभेरी नगरपालिका–३ का वडाध्यक्ष अर्णबहादुर न्यौपानेले बताउनुभयो । विद्युत् सेवा बन्द भएपछि सरकारी तथा गैरसरकारी कार्यालयका कामसमेत प्रभावित भएको छ । दुनै बजार सोलार र जेनेरेटरको भरमा चलेको छ । 

जिल्ला प्रशासनबाट उपलब्ध हुने नागरिकता, राहदानी लगायतका सेवा लिन आवाश्यकपर्ने कागजात फोटोकपी गर्न तथा फोटो निकाल्नका लागि सर्वसाधारण चर्को मूल्य तिरेर जेनेटर र सोलारबाट काम गराउन बाध्य छन् । विद्युत् अवरुद्ध भएको फाइदा उठाउँदै स्थानीय व्यापारीले एउटा फोटोकपीको रु २०, एक प्रति इमेल गरेको रु ५० र चारप्रति फोटो निकालेको रु ४०० सम्म लिइरहेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!