दोलखा साङ्गितिक महोत्सव आजबाट शुरु

Posted on: 05 Apr, 2017

ताराबहादुर महत । चैत्र २३, दोलखा । बृहत दोलखा साङ्गितिक महोत्सव तथा मध्यमाञ्चल स्तरिय खुल्ला लोक दोहोरी प्रतियोगिता आजबाट चरिकोटमा शुरु भएको छ ।

गत बर्षको विनाशकारी भुकम्पका कारण अंगभंग भएर अपाङ्गता भएका दोलखाली व्यक्तिहरुलाई  सहयोग गर्ने उद्धेश्यले महोत्सव संचालन गरिएको महोत्सव संयोजक हिमाल केसीले जानकारी दिनुभयो । संयोजक केसीको अध्यक्षतामा आज चरिकोटको टुँडिखेलमा भएको उद्घाटन समारोहमा बरिष्ठ लोक गायक कुमार बस्नेत, रेशम थापा, पप गायक डिजराज पौडेल, गायिका जुना प्रसाँई लगायतले प्रस्तुति दिनुभएको थियो । त्यसैगरी एउटा मात्र खुट्टा भएकी नृत्याङ्गना रोमा न्यौपानेको नृत्य हजारौँ दर्शकले उत्सुकताका साथ अवलोकन गरेका थिए ।

भोलिबाट शुरु हुने लोक दोहोरी प्रतियोगिताका लागि झण्डै दुई दर्जन समुह दर्ता भईसकेको संयोजक केसीको भनाई छ । उहाँका अनुसार महोत्सवको दोश्रो दिन भोलि लोक दोहोरी गायिकाहरु टिका पुन, ज्योति मगर र हास्य कलाकार जितु नेपाल ‘मुन्द्रे’ लगायतको प्रस्तुति हुनेछ ।  

भुकम्पबाट अंगभंग भएका व्यक्तिहरुका लागि सहयोगार्थ नेपाल अपाङ्ग महासंघ विकास केन्द्रले पहिलो पटक दोलखामा महोत्सव आयोजना गरेको हो । सहयोगार्थ महोत्सव भुकम्प प्रभावित १४ वटै जिल्लामा संचालन गरिने आयोजकको भनाई छ ।

उद्घाटनको दिन आज दर्शकहरुलाई  निःशुल्क प्रवेश दिईएको थियो भने भोलिबाट रु २५ को टिकट काटेर मात्र महोत्सवस्थलमा प्रवेश गर्न पाईने आयोजकले जनाएको छ । महोत्सवको  दोलखाली कलाकार समाज र हिम शिखर समाज, नेपालले सहआयोजना गरेका हुन ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!