साउदीले भोलिदेखि अन्तराष्ट्रिय हवाई उडान प्रतिबन्ध हटाउदै

Posted on: 14 Sep, 2020

भदौ २९, काठमाडौँ | साउदी अरेबियाले आंशिक रूपमा मंगलबारदेखि अन्तर्राष्ट्रिय उडानमा भएको यसअघिको प्रतिबन्ध हटाउने भएको छ । साउदीको आन्तरिक मन्त्रालयले कोरोना महामारीको कारणले यात्रा प्रतिबन्ध लगाएको छ महिना पछि यस्तो निर्णय गरेको हो ।

साउदीले यो निर्णय गरेसंगै विशेष परिस्थितिमा सीमित सङ्ख्यामा मानिसहरूलाई साउदीमा यात्राको अनुमति दिइने भएको छ । अरब न्यूजका अनुसार साउदीका गृहमन्त्रीले कोरोनाका कारण अन्तर्राष्ट्रिय यात्रामा लगाइएको प्रतिबन्ध आगामी वर्षको जनवरीसम्ममा पूर्णरूपमा हटाइने जनाएका छन् । 

प्रतिबन्ध हटेसंगै मानिसहरूलाई जल, थल र सीमाबाट आवतजावतको अनुमति दिइनेछ । प्रतिबन्ध हटाइने मितिको घोषणा वर्ष सकिनु ३० अगाडि अर्थात डिसेम्बरमा जानकारी दिइनेछ र स्वास्थ्य मन्त्रालयले यात्री तथा यात्रा सेवा प्रदायकका लागि नियमहरू तय गर्नेछन् । 

Photo: AFP/File

खाडी नागरिकहरू र वैध रेसिडेन्सी अनुमति वा भिसा भएका अन्यलाई समेत मंगलबारदेखि साउदी प्रवेश गर्न दिइनेछ । अरब न्यूजका अनुसार साउदी अरबमा आइतबारसम्म देशका ९३ प्रतिशत संक्रमित ठिक भएका छन् । 

स्वास्थ्य मन्त्रालयको हवाला दिदैँ प्रकाशित समाचारका अनुसार साउदीमा ३ लाख २५ हजार ६ सय ५१ संक्रमित रहेकोमा ३ लाख २ हजार ८ सय ७० संक्रमित निको भइसकेका छन् ।

साउदी प्रवेश गर्न पाउनेले अनिवार्य कोरोना नेगेटिभको प्रमाण भने पेस गर्नु पर्ने बताइएको छ । 

साउदी सरकार र सैन्य कर्मचारीहरू, दूतावासका कामदारहरू, विद्यार्थी र चिकित्सा उपचारको लागि आवश्यक पर्ने व्यक्तिहरू लगायत अन्यलाई पनि मंगलबारदेखि साउदी प्रवेश गर्न र बाहिर जान अनुमति दिनेछ ।

साउदी अरेबियाले गत मार्चमा अन्तर्राष्ट्रिय उडान स्थगित गरेको थियो । जसको कारण धेरै विदेशी कामदार तथा साउदीकै नागरिकहरु समेत विदेशमा अलपत्र परेका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!