अस्ट्रेलियामा रहेका नेपालीलाई अत्यावश्यक काम बाहेक दूतावास नआउँन अनुरोध

Posted on: 18 Mar, 2020

चैत ५ , काठमाडौं | अस्ट्रेलियामा रहेका नेप[लीहरुलाई दूतावास नआउन अस्ट्रेलियास्थित नेपाली राजदूतावासले आग्रह गरेको छ | कोरोना संक्रमणबाट बच्न अस्ट्रेलियन सरकारले विभिन्न उपायहरू अवलम्बन गरिरहेका बेला त्यहाँस्थित नेपाली राजदूतावासले १९ मार्चदेखि अत्यावश्यकबाहेकका काममा दूतावास नआउन आग्रह गरेको हो |

दूतावासले राहदानी नवीकरण, यात्रा अनुमतिपत्र, गैरआवासीय नेपाली परिचयपत्र, भिसा र सवारी चालक अनुमतिपत्रलगायतका कागजात प्रमाणीकरण गर्नुपर्ने भए हुलाकमार्फत पठाउन भनेको छ | अधिकृत वारेशनामा, मञ्जुरीनामालगायत राजदूतावासमा स्वयं उपस्थित भई सहीछाप गरिनुपर्ने कामका लागि भने नेपाली दूतावास जान सक्नेछन् । तर, त्यसका लागि सर्त लागू हुनेछ । 

क्यानबेरास्थित नेपाली राजदूतावासका अनुसार, अत्यावश्यकीय सेवा लिन आउने व्यक्तिले पहिले त्यसबारे टेलिफोनमार्फत जानकारी गराउनु पर्नेछ । यसरी जानकारी गराएका व्यक्तिले आफूमात्रै आएर बिहान १० देखि १ बजेभित्र सेवा लिनसक्ने छन् |

‘राजदूतावास आउनुपर्ने अत्यावश्यक काम भएमा टेलिफोन सम्पर्क गरी समय लिएर मात्र अफिस खुल्ने दिन बिहान १० देखि १ बजेसम्म आउने,’ कन्सुलर सेवासम्बन्धमा दूतावासद्वारा जारी सूचनामा भनिएको छ |

अत्यावश्यक अवस्थाबाहेकमा हिँड्डुल नगर्न पनि त्यहाँस्थित दूतावासले नेपालीलाई आग्रह गरेको छ | 

विश्व्यापीरुपमा फैलिरहेको कोरोनाभाइरसको जोखिमलाई मध्यनजर गर्दै सतर्कता अपनाउन आग्रह गरिएको छ | उक्त भाइरसका कारण हालसम्म ५ जना मानिसको ज्यान गइसकेको छ भने ४ सय ५२ संक्रमित रहेका छन् | अस्ट्रेलियामा रहेका १ नेपालीमा समेत कोरोना संक्रमण पुष्टि भएको छ । ती नेपालीको हाल उपचार भइरहेको दूतावासले जनाएको छ |


यस बिषयमा तपाइको प्रतिक्रिया...!