अमेरिका नेपाल मेडिकल फाउन्डेसनद्वारा नेपालको अक्सिजन प्लान्टको लागि ८२ हजार डलर संकलन

Posted on: 12 May, 2019

विजय थापा | वैशाख २९, वासिङ्टन डिसी । अमेरिका नेपाल मेडिकल फाउनडेसन (एएनएमएफ) को २३ औ वार्षिक सम्मेलनमा नेपालको अक्सिजन प्लान्ट (कारखाना) परियोजनाको लागि ८२ हजार डलर सङ्कलन गरेको छ । 

साथै नेपालमा दुई दशक देखि जर्मन बाट स्वास्थ्य क्षेत्रमा काम गरि रहेको नेपाल मेड ईभीका जर्मन चिकित्सक आर्न ड्रुले पृथक रुपमा ६० हजार युरो दिने घोषणा गरेका छन । एएनएमएफले बिशेष अक्सिजन प्लान्ट परियोजनाको लागि पूर्व सूचना जनाई कोष वृद्धि कार्यक्रमको घोषणा गरे अनुसार मे ११ शनिबार कूल ८२ हजार डलर संकलन गर्न सफल भएको छ । २३ औ सम्मेलनको अलागी प्रधानमन्त्रि केपी शर्मा ओलीले शुभकामना संदेश पठाउनु भएको थियो भने अध्यक्ष चिकित्सक सन्तोष सापकोटाले पढेर सुनाएका थिए । 

गत बर्ष २०१८ मा महाराजगंज स्थित शिक्षण अस्पतालमा एएनएमएफले अक्सिजन प्लान्ट जडान गर्न सफल भएको थियो । संस्थाले नेपालका सवै प्रदेशका लागी परियोजना लग्ने योजना समेत राखेको छ । 


उपत्यका बाहिर अक्सिजनको अभाव नहोस र यसको समस्याको समाधान होस् भन्ने हेतुले एएनएमएफले यसमा बिशेष पहल गर्दै सम्मेलनमा कोष वृद्धि रात्री भोजन कार्यक्रम (फन्डराईजिङ्ग डिनर ) राखेको थियो । 

यो रकम संकलन गर्नु अगावै करिव २५ हजार डलर संकलन भै सकेको थियो भने मे ११ मा सम्पन्न  कोष वृद्धि रात्री भोजन कार्यक्रम (फन्डराईजिङ्ग डिनर ) मा कूल ८२ हजार डलर संकलन भएको छ । नेपाल ,बेलायत तथा अमेरिकाका विभिन्न राज्यहरुमा रहेका चिकित्सकहरुले बोलेको रकम एएनएमएफलाई दिने छन । 

संस्थामा आजीवन सदस्यको लागि एक हजार डलर रहेकोले उक्त कार्यक्रममा सहभागी भएका स्वयम चिकित्सकले आजीवन सदस्य बन्नुको साथै आफ्ना जीवन संगिनी तथा आफ्ना छोराछोरीलाई समेत आजीवन सदस्य बनाएका थिए । 

संस्थामा जुन सुकै उमेरका पनि आजीवन सदस्य बन्ने प्रावधान रहेकोले करिव ३ जना बालबालिका किशोरकिशोरी सहित ७ महिनाकि बालिका पनि १ हजार डलर तिरेर आजीवन सदस्य भएका छन् । यो भन्दा पहिले ११ महिनाकि बालिका अमेरिका नेपाल मेडिकल फाउनडेसन (एएनएमएफ)को आजीवन सदस्य बनेकी थिइन् । अमेरिकामा आइतबार आमाको मुख हेर्ने दिन परेकोले यस दिनलाई समर्पित गर्दै आमाको नाममा आजीवन सदस्य बन्ने घोषणा गरेका थिए । 


सम्मेलन मा एएनएमएफका सह-संस्थापक तथा पूर्व अध्यक्ष गौरी अधिकारीलाई जीवनकाल उपलब्धि पदक द्वारा सम्मान गरिएको थियो । गत मे १० देखि १२ सम्म चल्ने उक्त सम्मेलनको पहिलो दिन शुक्रबार नेपाल तथा अमेरिकाका विभिन्न राज्यहरुमा रहेका नेपाली चिकित्सकहरुको जमघटको साथै सांस्कृतिक कार्यक्रम गरिएको थियो । 

नेपाल बाट आएका स्वास्थ्य मन्त्रालयका सह सचिव चिकित्सक रमेश खरेल,नेपाल मेडिकल काउन्सिलको प्रतिनिधित्व गर्दै उपाध्यक्ष प्रा चिकित्सक नारायण बिक्रम थापा लगायतको सहभागिता रहेको थियो । 

सम्मेलनमा चिकित्सकहरुले विभिन्न बिषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदुत डा अर्जुन कु कार्की( बिद्या वारिधि )मेरिल्याण्ड राज्यका बिधान सभा सदस्य एचपी ह्यारी भण्डारीले समेत मन्तब्य राखेका थिए । 

सम्मेलनमा आसन ग्रहण ,मंचमा आमन्त्रण ,खादा द्वारा सम्मान कार्यक्रम नराखी व्यवसायिक रुपमा चिकित्सकहरु आफ्ना बिषयमा वस्तुमा केन्द्रित रहेका थिए । 


सन् १९९७ मा नेपाली मूलका चिकित्सकहरुको प्रयास तथा नेपाललाई माया गर्ने अमेरिकन चिकित्सकहरुको पहलमा स्थापाना भएको अमेरिका नेपाल मेडिकल फाउनडेसन का संस्थापक अध्यक्ष चिकित्सक अर्जुन कार्की हुन् l

गैर मुनाफा सामाजिक संस्थाको रूपमा न्युयोर्कमा दर्ता भएको संस्था एएनएमएफको मुख्य उद्देश्य नेपालका परियोजनालाई सहयोग गर्नुको साथै स्वास्थ्य सेवा पुर्‍याउनु रहेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!