मुख्यमन्त्री राउतद्वारा बकरिदको शुभकामना

Posted on: 31 Jul, 2020

साउन १६, जनकपुर । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले शनिबार पर्ने इस्लाम धर्मावलम्बीको महान पर्व बकरिदको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयद्वारा आज जारी गरिएको विज्ञप्तिमा इद–ऊल अजहा (बकरिद)को अवसरमा देश विदेशमा बस्नुभएका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दे मुख्यमन्त्री राउतले प्रदेश नं २ का साथै मुलुकमा भाइचारा र सुख शान्तिमा अभिवृद्धि होस् भनी कामना गर्नुभएको उल्लेख गरिएको छ ।

कोरोना महामारीले विश्वलाई अक्रान्त बनाएको अवस्थामा हुन गइरहेको यो पर्वले विश्वलाई कोरोनाबाट मुक्ति दिलाओस् भनी उहाँले कामनासमेत गर्नुभएको छ । वर्तमान महामारीको अवस्था र सरकारले ठाउँठाउँमा गरेको लकडाउनलाई पूर्ण पालना गर्नुपर्ने विषयमा जोड दिँदै मुख्यमन्त्री राउतले इस्लाम धर्मावलम्बीलाई भीडभाड नगरी आ–आफ्नै घरमा पर्व मनाउन र कोरोनाको अन्त्यका लागि प्रार्थना गर्नसमेत आग्रह गर्नुभएको छ । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!