जनकपुरमा चारजनाको शंकास्पद मृत्यु, तीन जना गम्भीर, २२ जना अस्पतालमा भर्ना

Posted on: 15 Mar, 2020

चैत २, धनुषा | जनकपुरमा चारजनाको शंकास्पद मृत्यु भएको छ । जनकपुरधाम उप-महानगरपालिका ७ जानकी चोकस्थित मुसहरी बस्तीमा शंकास्पद चारजनाको मृत्यु भएको हो ।   

मृत्यु हुनेमा जनकपुरधाम उप-महानगरपालिका ७ भ्रमरपुरा चोकस्थित मुसहरी टोलका ५५ वर्षीया बनारसी देवी सदा, ५२ वर्षीय झगरु सदा, ४५ वर्षीया मिथिला सदा र २२ वर्षीय जितेन्द्र सदाको मृत्यु भएको हो ।

सोही बस्तीका अन्य तीनजनाको अवस्था चिन्ताजनक रहेको प्रादेशिक अस्पताल जनकपुरधामले जनाएको छ । सोहि बस्तिका अन्य २२ जनालाई स्वास्थ्य परिक्षणका लागि अस्पताल भर्ना गराइएको मेडिकल सुपरिटेण्डेन्ट डा. रामपरीक्षण यादवले जानकारी दिएका छन् । 

प्रादेशिक अस्पतालका जेनरल फिजिसियन तथा उपचारमा संलग्न चिकित्सक रामदेव चौधरीले गत बुधबार होलीको दिन मदिरा सेवन गरेकाले चेकजाँचका लागि ल्याब पठाइएको जानकारी दिए । बस्तीमा होलीका दिन प्रायः घरपरिवारका व्यक्तिले मदिरा सेवन गरेको वडा अध्यक्ष जानकीराम साहले बताए । 

केहि दिन अघि धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा अवैद्य घरेलु मदिरा सेवनबाट ८ जना मृत्यु भएको थियो ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!