मत्स्य पर्यटन प्रवद्र्धनको सम्भाव्यता अध्ययन

Posted on: 05 Oct, 2020

असोज १९, जनकपुरधाम । धनुषा जिल्लाको कमला नगरपालिका र जनकनन्दनी गाउँपालिकामा कमला नदीबाट उकासिएको जग्गामा मत्स्य पर्यटन केन्द्र प्रवद्र्धन गर्न  सम्भाव्यता अध्ययन गरिएको छ । कृषि तथा पशुपंक्षी मन्त्रालयका मत्स्य पालन विज्ञ टोलीद्वारा उक्त जग्गामा पोखरी खनेर माछा पालन गरी पर्यटन केन्द्र प्रवद्र्धनका लागि सम्भाव्यता अध्ययन गरिएको हो । कमला नदीको कटानबाट किसानका  १४ हजार विघा उपजाउ जग्गा प्रभावित रहेको छ ।

कमलाको वडा नं ४, ५ ,६ , ७ , ८ , ९ र जनकनन्दनीको वडा नं १ र ६ मा उकासिएको जग्गामा सहकारीका माध्यमबाट मत्स्यपालन गरी पर्यटन केन्द्र प्रवद्र्धन गर्ने लक्ष्य राखिएको छ । करिब ४ फिटसम्म बालुवा पुरिएको , खाल्डाखुल्डी भएको सो जग्गामा पूर्वमन्त्री रामचन्द्र झा र कमला नगरपालिकाका प्रमुख राम उद्गार गोइतको सक्रियतामा पोखरी खनेर माछा पालन योजनामा सहकार्यका लागि किसानलाई उत्प्रेरित गरिएको छ ।पूर्वमन्त्री झाका अनुसार जनकनन्दनी गाउँपालिकाको मल्हनियाँदेखि कमलाको टेडामोडसम्मको करिब १० किलोमिटर लामो र सरदर १ किलोमिटर चौडाइ भएको जग्गामा पोखरी खनेर मत्स्य पर्यटन केन्द प्रवद्र्धनका लागि किसानलाई उत्प्रेरित गरिएको छ ।

जग्गा स्थलगत निरीक्षण गर्नुभएका मत्स्य प्रवद्र्धन तथा संरक्षण केन्द्र बालाजुका प्रमुख मत्स्य विकास अधिकृत प्रमोदकुमार रिजाल, मत्स्य मानव संसाधन तथा प्रविधि परीक्षण केन्द्र जनकपुरधामका वरिष्ठ मत्स्य विकास अधिकृत रविलाल शर्मा , प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यान्वयन इकाइ जनकपुरधामका प्रमुख वरिष्ठ मत्स्य विकास अधिकृत युगलकिशोर तिवारी , पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय जनकपुरधामका निर्देशक जागेश्वर यादव र मत्स्य विकास अधिकृत सुभाषकुमार झासहितका टोलीले उकासिएको जग्गामा पोखरी खनेर माछापालनको सम्भाव्यतालाई मूर्त रूप दिन किसानसँग छलफलसमेत गरेको छ ।  निर्देशक यादले कमलाको भङ्गालोमा मत्स्यपालनका लागि उपयुक्त भएको बताउनुभयो । पहिलो चरणमा अध्ययन गरी प्रतिवेदन दिए लगतै योजनालाई मूर्त रूप दिने  बताइएको छ ।नगरप्रमुख  गोइतले जग्गाधनीको लालपूर्जा अनुसार सहकारीको माध्यमबाट आम्दानीको बाँडफाँड गरिने आधारमा जग्गाधनीकै स्वामित्व रहने गरी योजनालाई मूर्त रूप दिइने अवधारणा राखिएको जानकारी दिनुभयो  । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!