भूकम्पपीडितलाई कृषि उपकरण वितरण

Posted on: 10 Jun, 2017

जेठ २७, धनकुटा | प्रविधियुक्त आधुनिक कृषि प्रणालीको प्रयोगबाट कृषि उत्पादन बढाउन जिल्ला कृषि विकास कार्यालयले भूकम्पपीडित किसानलाई अनुदानमा कृषि औजार उपकरण वितरण गरेको छ । 

धनकुटा जिल्लाका विभिन्न क्षेत्रका रातो परिचयपत्र पाएका भूकम्पपीडित किसानलाई कृषि विकास मन्त्रालयको सिफारिसमा राष्ट्रिय पुनःनिर्माण कोषमार्फत प्राप्त छ प्रकारका आधुनिक उपकरण वितरण गरिएको हो । जिल्लाका किसानहरुलाई एकसय ४६ थान कृषि औजार उपकरण ९० प्रतिशत सहुलियतमा वितरण गरिएको जिल्ला कृषि विकास कार्यालय धनकुटाले जनाएको छ । 

किसानका लागि छ थान खेत जोत्ने मिनी टिलर, पाँच थान धान तथा गहुँ झार्ने थ्रेसर मेसिन र १० थान कर्नसेलर मेसिन वितरण गरी त्यसको प्रयोगबारेमा ज्ञान दिइएको थियो । 

यसैगरी, विभिन्न ग्रामीण क्षेत्रका लागि ४२ थान प्लाष्टिक पोखरी बनाउने सामग्री र दुई हजार २४४ थान बीउबिजन भण्डारण गर्ने हार्भेस्टिङ्ग ब्याग र १० थान थोपा सिँचाइमा प्रयोग गरिने सामग्री वितरण गरेको कार्यालयका प्रविधिज्ञ सूर्य सापकोटाले बताउनुभयो । जिल्ला कृषि विकास कार्यालयमा आवेदन परेकामध्ये ७३ भूकम्पपीडितलाई प्राथमिकताका आधारमा त्यस्ता सामग्री वितरण गरिएको जनाइएको छ । प्रविधियुक्त ती कृषि उपकरणहरु २२ लाख ५८ हजार रुपैयाँ मूल्य बराबरको रहेको कृषि विकास कार्यालयका प्रमुख भरत बिडारीले जानकारी दिनुभयो । 

जिल्लामा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणद्वारा प्रमाणित सूचीमा रातो कार्ड प्राप्त दुई हजार ७९६ घरधुरी भूकम्पपीडित रहेका छन् । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!