कोरोना संक्रमणबाट धादिङमा तीन जनाको निधन

Posted on: 21 Oct, 2020

कात्तिक ५, धादिङ | कोभिड –१९ को संक्रमणका कारण दुई दिनका अवधिमा धादिङका तीन जनाले ज्यान गुमाएका छन् । नेपाल बार एशोसिएशन धादिङका संस्थापक अध्यक्ष अधिवक्ता गोबिन्दबहादुर श्रेष्ठको संक्रमणबाट मृत्यु भएको छ ।

त्रियासी वर्षीय श्रेष्ठको उपचारका लागि अल्का अस्पताल लगिएकामा मृत्यु भएको धादिङ बार एशोसिएशनका अध्यक्ष कृष्णराज अधिकारीले जानकारी दिनुभयो । दुई दिनअघि अस्पताल लगिएकामा भर्ना गर्नसमेत समस्या भएको थियो । निमोनिया र दमको समस्या भोगिरहनुभएका श्रेष्ठका दुई छोरा र चार छोरी  छन् । श्रेष्ठ धादिङ बार एशोसिएशनको २०४६ सालमा स्थापना हुँदा अध्यक्ष हुनुहुन्थ्यो ।

यसैगरी कोरोना भाइरसको संक्रमणबाट ज्वालामुखी गाउँपालिका वडा नं ७ का मोहन लोहनीको आज मृत्यु भएको छ । उहाँको काठमाडौँ मेडिकल कलेज (केएमसी) मा उपचारका क्रममा मृत्यु भएको हो । लामो समयदेखि युवा राजनीतिमा संलग्न लोहनी पूर्वमाओवादी केन्द्र निकट वाइसिएल नेपालका केन्द्रीय सदस्यसमेत हुनुहुन्थ्यो । लोहनी धादिङबाट प्रतिनिधिसभामा निर्वाचित खेम लोहनीका भाइ हुनुहुन्छ ।

मंगलबार मृत्यु भएका बसेरी गाविसका पूर्वअध्यक्ष डम्बरबहादुर ढकाललाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । मृत्युपछि परिवारका निश्चित केही व्यक्तिले मात्र व्यक्तिगत सुरक्षा सामग्री लगाएर सद्गत गरेका छन् । मृत्युपछि कसैको  कोरोना परीक्षण नगर्ने भनिए पनि निजी  अस्पतालमा उनको कोरोना परीक्षण गराइएको थियो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!