बिमा गर्न कृषि कार्यालयको आग्रह

Posted on: 16 Apr, 2017

बैशाख ३,धादिङ । चैते धान खेती गर्ने कृषकलाई सरकारले अुदान दिने भएकोले कृषकलाई बाली विमा गर्न जिल्ला कृषि विकास कार्यालयले आग्रह गरेको छ । 

कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत केशव देवकोटाले बिमा गरेका कृषकलाई मात्र अनुदान दिन मिल्ने भएकाले चैते धानबाली खेती लगाएका कृषकले बाली बिमा गर्नुपर्नेमा जोड दिनुभएको हो । 

वृहत्तर धान उत्पादन कार्यक्रम अन्तर्गत एक सय हेक्टरका लागि सरकारले रु पाँच लाख अनुदान दिने भएको छ । कृषकले अनुदान प्राप्त गर्नका लागि चैते धान लगाएपछि धानबालीको बिमा गर्नुपर्नेमा हालसम्म कुनैपनि कृषकले सिफारिस लिन आएका छैनन । जिल्लामा धानबाली बिमा गर्दा कृषकले बिमा रकमको २५ प्रतिशत र सरकारले ७५ प्रतिशत दिने भएकोले सरकारले बिमाको रकम दिनका लागि जिल्ला कृषि विकास कार्यालयको फिारिस लिनुपर्ने हुन्छ । धादिङ जिल्लामा दुई हजार ५१५ हेक्टर जमिनमा चैते धान खेती गरिएको सो कार्यालयले जनाएको छ । अनुदान पाउनका लागि प्रति हेक्टर चार टन धान उत्पादन गर्नुपर्नेहुन्छ । 

धादिङबेँसीमा इन्सेकले आयोजना गरेको सेवा प्रदायक र सेवाग्राही बीचको अन्तक्र्रिया कार्यक्रममा कृषकले बिमा नगर्दा अनुदानसमेत नपाउने भएकोले आधारभूत कृषकसम्म सूचना पु¥याउने व्यवस्थाका लागि सेवाग्राहीले माग गरेका छन् । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!