महाकाली कोरिडोरको इआइए तयार, बैतडीमा करीब ६८ हेक्टर खेतीयोग्य जमीन नष्ट हुने

Posted on: 14 Sep, 2019

भदौ २८, बैतडी | कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको खलङ्गासम्मको महाकाली कोरिडोर वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (इआइए) तयार भएको छ । सडक विभागअन्तर्गतको भौतिक सामाजिक तथा वातावरणीय शाखाले परामर्शदाता कम्पनीमार्फत वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार पारेको हो । 

डिपिआर सडक निर्माणका क्रममा हुने जङ्गलको क्षति, खेतीयोग्य जमीनको क्षति, घरपरिवार विस्थापितलगायत वातावरणीय प्रभावका कुराहरु आँकलन गरेको टोलीप्रमुख रेशम बाँनियाले जानकारी दिनुभयो । वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनअनुसार महाकाली कोरिडर निर्माण गर्दा बैतडीमा करीब ६८ हेक्टर खेतीयोग्य जमीन नष्ट हुने भएको छ । 

कोरिडोरले पञ्चेश्वर, शिवनाथ र दोगडाकेदार गाउँपालिका तथा दशरथचन्द नगरपालिकामा प्रभाव पार्ने जनाइएकोे छ  । यस्तै चार वटै स्थानीय तहमा करीब ३५ हेक्टर जङ्गल नष्ट हुने बताइएको छ । कोरिडोर निर्माणका क्रममा शिवनाथमा २१, दशरथचन्द नगरपालिकामा २७ र दोगडाकेदार गाउँपालिकामा ५७ घरपरिवार विस्थापित हुने देखिएको छ ।

पञ्चेश्वर गाउँपालिकामा विस्थापित हुने परिवार सङ्ख्या सङ्कलनको काम भइरहेको छ । कोरिडोरले विस्थापित हुने घरपरिवारलाई क्षतिपूर्तिबापत १८ हजारदेखि ४० लाखसम्म मुआब्जा दिन सकिने जनाइएको छ । 

एघार मिटर अर्थात् दुई लेन चौडाइ रहने सडक निर्माणका क्रममा झण्डै पाँच हजार ठूला रूख र सात हजार बुट्यान कटान गर्नुपर्ने देखिएको छ । 

करिडोरअन्तर्गत बैतडीमा ११४ किलोमिटर सडक निर्माण हुनेछ । कञ्चनपुरमा ११, डडेल्धुरामा ५९ र दार्चुलामा ४० किलोमिटर सडक निर्माण हुने बताइएको छ । 

वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार भएसँगै कोरिडोर निर्माण कार्यले तीव्रता पाउने जनाइएको छ । महाकाली करिडोरअन्तर्गत कञ्चनपुरको ब्रह्मदेव–झुलाघाट–दार्चुलासम्मको दूरी २९१ किलोमिटर छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!