राम्रीको होमस्टेमा विदेशी पर्यटक आउने क्रम शुरु

Posted on: 23 Nov, 2018

शंकर के सी | मङ्सिर ७, दाङ | दाङ तुलसिपुरकोट राम्रीमा गत जेठ महिनामा स्थापना भएको सामुदायीक होम स्टेले विस्तारै पर्यटकहरुलाइ भित्राउदै गएको छ । स्वच्छ, सफा र सुन्दर वातावरणमा अवस्थीत राम्रीमा स्थापना भएको होम स्टेमा विदेशी पर्यटकहरु पनि भित्रने क्रम शुरु भएको होम स्टेले जनाएको छ ।

तुलसिपुर उपमहानगरपालिका वडा नम्बर तीन मा रहेको होमस्टे अपेक्षानुसार फस्टाउन नसकेपनि शुरुवाती चरण भएकाले निराश हुनुपर्ने अवस्था नआएको सामुदायीक होम स्टे राम्रीका अध्यक्ष दोर्ण आचार्य बताए । होम स्टेमा अमेरिका, थाइल्याण्ड, भारत लगाएतका देशबाट पर्यटकहरु आउने क्रम शुरु भएको उनले बताए । आचार्यले भने, ‘हाल सम्म हाम्रो यस होम स्टेमा पाँच सय बढि वाह्य र तीन बहजार भन्दा बढि आन्तरिक पर्यटकहरु आउनुभएको छ । बाह्य पर्यटकमा बढिजसो भारतीय पर्यटकहरु आउनुहुन्छ ।’ 

पर्यटकहरुले स्थानीय उत्पादनबाट बनेका अग्र्यानीक खाना निकै मन पराउने गरेको उनले बताए । ढिडो, सिस्नु, स्थानीय जातको कुखुरा, दहि, घीउ जस्ता खाना होम स्टेमा आउने पर्यटकहरुले मन पराउने गरेका छन् ।


तुलसिपुरको राम्रीलाइ पर्यटकीय क्षेत्र बनाउने योजना रहेको छ । राम्रीमा थप ६ वटा होम स्टे थप गरेर पर्यटकहरु भित्राउने योजना रहेको अध्यक्ष आचार्यले जनाएका छन् । उनले भने, ‘कुनै पनि पर्यटकहरु आएर गाउँभरि घुम्न, रमाउन र यहाँ उत्पादीत वस्तुहरुको स्वाद लिन सकुन् भनेर थप ६ वटा होम स्टे निर्माण गर्ने तयारिमा छौँ ।’ यसको लागी समूदायस्तरबाट मात्रै सबै गर्न नसकिने वा कठिन हुने भएकाले सरकारी सहयोगको अपेक्षा राम्रीवासिले गरेका छन् । हाल सम्म होम स्टे सञ्चालनका लागी कुनै पनि तह वा निकायबाट सहयोग नभएको जनाउँदै आचार्यले होम स्टेको विकास र पर्यटन प्रवद्र्धनका लागी स्थानीय सरकारको पनि भुमिका त्यत्तीकै हुनुपर्ने धारणा राखे ।   

यसैविच होम स्टे सञ्चालनमा केहि चुनौतीहरु पनि देखा परेका छन् । राम्री स्थीत होम स्टेमा अहिले सुरक्षा देखि इन्टरनेटको प्रवन्ध छैन । यसले पर्यटकहरु ढुक्क संग राम्रीमा बस्न सक्ने अवस्था छैन । नजीकमा प्रहरी नहुनु, प्रविधिको युगमा पनि इन्टरनेटको व्यवस्था नहुनु जस्ता कारणले पर्यटकहरु केहि असुविधामा परेको अध्यक्ष आचार्य बताउँछन् । उसो त सुरक्षाको दृष्टीले असुरक्षित मानिने तुलसिपुर कपुरकोट सडक खण्डमा प्रहरीको सुरक्षा आवश्यकता पटक पटक उठ्दै आएको हो । यो विचमा कुनै अप्रिय घटना भइहालेमा कि त तुलसिपुर, कि त सल्यानको कपुरकोटबाट प्रहरी आउनुपर्ने बाध्यता छ । यस्तो अवस्थामा राम्रीको आसपासमा प्रहरी इकाइ स्थापना भएमा होम स्टेको प्रवद्र्धनमा पनि फाइदा पुग्ने स्थानीयको आशा छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!