कोभिड–१९ : जाँचपछि मात्र घोराही प्रवेश

Posted on: 22 Mar, 2020

चैत ९, दाङ | घोराही उपमहानगरपालिकाले कोरोना भाइरसको सङ्क्रमण भित्रिन नदिन नगरको प्रवेशमा कडाइ गरेको छ । उपमहानगरले घोराही क्षेत्रमा कोभिड– १९ को त्रास फैलिन नदिन यस क्षेत्रमा प्रवेश गर्ने यात्रुलाई अनिवार्य स्वास्थ्य जाँच शुरु गरेको छ । उपमहानगरपालिकाले बजार प्रवेश गर्ने क्षेत्र कुइरेपानीमा यात्रुको स्वास्थ्य जाँच शुरु गरेको हो । 

कोरोना भाइरसको सङ्क्रमण भित्रन नदिन बजार क्षेत्रको नाकामा स्वास्थ्य जाँच सहायता कक्ष नै स्थापना गरिएको जनस्वास्थ्य अधिकृत विकेश रेग्मीले जानकारी दिनुभयो । उपमहानगरले शनिबारदेखि शुरु गरेको स्वास्थ्य जाँचको पहिलो दिन मात्रै करिब २०० गाडीका यात्रुको ज्वरो मापन र अन्य स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिइएको थियो । जाँचका क्रममा कुनै पनि व्यक्तिमा ज्वरो, खोकी जस्ता समस्या नदेखिएको रेग्मीको भनाइ छ । 

उपमहानगरपालिकाले कुइरेपानीमा डा सुवर्ण बुढामगरसहित स्वास्थ्यकर्मीलाई खटाई घोराही प्रवेश गर्ने नागरिकको ज्वरोसँगै अन्य स्वास्थ्य अवस्थाका बारेमा जाँच गर्ने शाखा प्रमुख नारायणप्रसाद घर्तीले जानकारी दिनुभयो । पश्चिम क्षेत्रबाट घोराही प्रवेश हुने नारायणपुरमा डा प्रितम डिसीको नेतृत्वमा स्वास्थ्यकर्मी टोलीलाई खटाइएको छ । 

उपमहानगरले स्वास्थ्य जाँचका क्रममा शङ्कास्पद लक्षण देखिए त्यस्ता व्यक्तिलाई राख्नका लागि तीन स्थानमा आइसोलेसन कक्षको स्थापना गरेको छ । जसअन्तर्गत वडा नं ३ को कुइरेपानीस्थित प्रेरणाका लागि अभियान नेपालको भवन, वडा नं १० स्थित साविक त्रिपुर नगरपालिकाको भवन र वडा नं १६ स्थित बाल अस्पतालको भवनलाई प्रयोग गर्ने तयारी गरेको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!