तुलसीपुरका उपलब्धिः हवाईसेवा, बसपार्क, अटोभिलेज र मेट्रो कलेज

Posted on: 09 Jul, 2020

असार २५, दाङ | दाङको तुलसीपुर उपममहानगरपालिकाले तीन वर्षका अवधिमा लामो समयदेखि बन्द हुने र खुल्ने गरेको टरिगाउँ विमानस्थलमा नियमित हवाई सेवा सञ्चालन गरेको छ ।  यहाँ आज आयोजित पत्रकार सम्मेलनमा उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले तीन वर्षमा तुलसीपुरमा आधुनिक बसपार्क निर्माण, पातुखोलामा नमूना अटोभिलेज र  तुलसीपुर बहुप्राविधिक शिक्षालय (मेट्रो कलेज) सञ्चालनलगायत गौरवका आयोजना पूरा भएको जानकारी दिनुभयो । 

प्रमुख पाण्डेका अनुसार यसबीचमा खरको छाना हटाउने र  सुत्केरी भत्ता उपलब्ध गराउने कार्यक्रम पनि सम्पन्न भएको छ ।  अहिलेसम्म उपमहानगरपालिकाले ७५० खरका छाना हटाएको छ  । उहाँका अनुसार अहिले पञ्जीकरण, युवा क्षेत्र, आधुनिक बसपार्क निर्माणमा नगर उत्कृष्ट हुन सफल भएको छ ।  उपमहानगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषि,सिंचाइ र विद्युत् विस्तारमा पनि उल्लेख्य काम गरेको उहाँको भनाइ छ ।

स्वास्थ्यमा तीन वर्ष

उपमहानगरपालिकाले तीन वर्षमा तीन हजार पाँच सय जनालाई सुत्केरी भत्ता उपलब्ध गराएको छ ।  त्यस्तै उपमहानगरपालिकाका १९ वटै वडामा स्वास्थ्य संस्था पुगेका छन् । 

साथै पहाडी क्षेत्र वडा नं ३ र १९ मा दुईदुई स्वास्थ्य संस्था छन् । तुलसीपुरमा रक्तसञ्चार केन्द्र, राप्ती प्रादेशिक अस्पतालमा डायोलासिस सेवा र  स्वास्थ्य संस्थामा प्रयोगशाला सेवा दिन थालिएको उहाँले बताउनुभयो । त्यस्तै उपमहानगरपालिकामा मोतिविन्दुमुक्त गर्नका लागि निःशुल्क शल्यक्रिया सेवा तथा राप्ती आँखा अस्पताल, राप्ती प्रादेशिक अस्पताल र दुई आयुर्वेद अस्पतालमा पूर्वाधार निर्माणको काम अघि बढेको छ । साथै बेलझुण्डीस्थित कोरोना विशेष अस्पताललाई एकीकृत स्वास्थ्य अस्पतालका रुपमा विकास गर्ने गरी तयारी गरिएको उहाँको भनाइ छ ।  यस्तै उपमहानगरपालिकाभित्र विद्यालयलाई समायोजन गर्ने काम अघि बढेको छ । अहिलेसम्म  ३२ विद्यालय समायोजन गरिएको प्रमुख पाण्डेको भनाइ छ । 

तुलसीपुर स्पोर्ट सिटी 

उपमहानगरपालिकाले तुलसीपुरलाई स्पोर्ट सिटीका रुपमा विकास गरेको छ । बेलझुण्डीमा अन्तरराष्ट्रिय रङ्गशाला निर्माण भएको र बाँकी संरचना निर्माणको काम भइरहेको प्रमुख पाण्डेले बताउनुभयो । 

एक वडा/एक खेल मैदानको अबधारणालाई अघि बढाइएकोसमेत उहाँको भनाइ छ । 

प्रविधिमैत्री उपमहानगर 

 उपमहानगरपालिकालाई प्रविधिमैत्री बनाउने योजना अघि सारिएको छ । आगामी साउनदेखि ‘क्यासलेस र पेपरलेस’ बनाइने प्रमुख पाण्डेले बताउनुभयो । उहाँका अनुसार बैंकबाट मात्रै कारोवार गरिने  र बैंकमा उपमहानगरपालिकाको काउन्टर स्थापना गरिने बताउनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!