दैलेखमा अत्यधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु

Posted on: 29 Aug, 2020

भदौ १३, दैलेख (रासस) : ठाटीकाँध गाउँपालिकामा अत्यधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु भएको छ । गाउँपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा शुक्रबार राति सुत्केरी भएकी ठाटीकाँध–१ सिराडीकी २३ वर्षीया पार्वती शाहीको रक्तश्राव नरोकिएपछि प्रदेश अस्पताल सुर्खेत लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

शाहीले समयमै उपचार नपाउँदा मृत्यु भएको उहाँका जेठाजु टेकबहादुर शाहीले बताउनुभयो । दरबन्दीका चिकित्सक स्वास्थ्य केन्द्रमा नभएकाले र सदरमुकामबाट सात घण्टाभन्दा बढी समय लाग्ने विकट ठाउँ भएकाले पनि उपचार अभावमा सुत्केरीको मृत्यु भएको स्थानीयवासीले बताएका छन् ।

शाहीको अत्यधिक रक्तश्रावका कारण मृत्यु भएपछि स्थानीयवासीले स्वास्थ्य केन्द्रमा तालाबन्दी गरेका छन् ।

स्वास्थ्य केन्द्रका निमित्त इन्चार्ज लक्ष्मी रावतले व्यवस्थापन गर्दागर्दै आवश्यक सामग्री र चिकित्सक नहुँदा उपचारमा कठिनाइ भएकाले सुत्केरी बचाउन नसक्ने भइसकेपछि सिफारिस गरिएको बताउनुभयो । बच्चाको अवस्था सामान्य रहेको बताइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!