विद्यार्थीले बनाए गुरुका लागि घर

Posted on: 17 Feb, 2021

फागुन ५, चितवन । चितवन खैरहनीनगरपालिका–१ स्थित कङ्काली माविका पूर्वविद्यार्थीले आफूहरुलाई शिक्षा दिने शिक्षक (गुरु) पशुपतिलाल कर्णलाई घर निर्माण गरेका छन् । घर बनाउन कङ्काली मावि पूर्वविद्यार्थी समाजले अभियान नै सञ्चालन गरेर सहकर्मीहरुसँग रकम सङ्कलन गरेको थियो । स्वतस्फूर्तरुपमा पूर्वविद्यार्थीले रकम सहयोग गरेका थिए । सोही विद्यालयमा लामो समयसम्म अध्यापन गराएका शिक्षक कर्णका लागि विद्यार्थीले ‘गुरु आवास’नाम दिएर सुविधायुक्त घर निर्माण गरेको पूर्वविद्यार्थी समाजका अध्यक्ष अर्जुन लम्सालले बताउनुभयो ।

घर निर्माणमा झण्डै रु २४ लाख खर्च भएको छ । चार लाख जिन्सीसहित रु २४ लाखमा घर निर्माण गरिएको अध्यक्ष लम्सालले बताउनुभयो । घरमा फर्निचरदेखि ‘वासिङ मेशिन’सम्म व्यवस्था गरिएको छ । कोरोना भाइरस सङ्क्रमणका कारण घर हस्तान्तरणमा ढिलाइ भए पनि सरस्वतीपूजाका अवसर पारेर उपहार प्रदान गरिएको अध्यक्ष लम्सालले बताउनुभयो । शिक्षक कर्णको यहाँ आफ्नै घर छैन । कङ्काली माविअगाडि शिक्षक आफँैले थोरै जग्गा खरीद गरे पनि घर निर्माण गर्न सक्नुभएको थिएन ।

सो घर मङ्गलबार सरस्वतीपूजाका अवसर पारेर हस्तान्तरण गरिएको छ । नेपाली सिने क्षेत्रका महानायक राजेश हमालको प्रमुख आतिथ्यतामा एक समारोहबीच सो घर शिक्षक कर्णलाई हस्तान्तरण गरिएको थियो । 

सो अवसरमा महानायक हमालले विद्यार्थीहरुले नमूना काम गरेको भन्दै प्रशंसा गर्नुभयो । “शिक्षकप्रति पूर्वविद्यार्थीले देखाएको माया उत्कृष्ट छ”, महानायक हमालले भन्नुभयो । शिक्षक कर्णले नयाँ घर पाउँदा खुशीको सीमा नरहेको प्रतिक्रिया दिनुभयो । घर प्राप्त गरेपछि शिक्षक कर्णले खुशी व्यक्त गर्दै भन्नुभयो, “विद्यार्थीको यो कामको उच्च सम्मान गर्छु ।”रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!