भरतपुरको कोरोना विशेष अस्थाई अस्पतालमा बिरामीको मृत्युपछि अस्पतालद्वारा विज्ञप्ति जारी

Posted on: 24 Mar, 2020

चैत ११, चितवन | चितवनको भरतपुरस्थित कोरोना विशेष (अस्थायी) अस्पतालमा एक जना व्यक्तिको आज बिहान ९ बजे मृत्यु भयो । यो समाचार बाहिरिए पछि धेरैलाई कोरोनाकै कारण मृत्यु भएको हो भन्ने त्रास जागेको पाइएको छ । 

कोरोनाको आशंका गरि अस्थाई अस्पताल पठाइएका व्यक्तिको मृत्यु भएपछि त्यसको बिषयमा अस्थाई अस्पतालले बिज्ञप्ति जारी गर्दै कोरोनाकै कारण बिरामीको ज्यान गएको पुष्टि नभएको जनाएको छ । अस्थाई अस्पतालले मृतक चितवन मेडिकल कलेजबाट रिफर गरिएको बिरामी भएको जनाएको छ । 


मंगलबार जारी विज्ञप्ति अनुसार मृतक वीरगन्ज महानगरपालिका २२ स्थित जगन्नाथपुरका ३० वर्षीय  सन्तोष यादव हुन् । उनी पहिलेदेखि नै लुपुस भन्ने रोगले मिर्गौला समेत समस्या देखिएका बिरामी रहेको र गत चैत ९ गते चितवन मेडिकल कलेजमा भर्ना भएका थिए । उपचारकै क्रममा उनलाई कोरोना भाइरसको आशंका देखिएपछि सोमबार राति कोरोना विशेष अस्पतालमा रिफर गरिएको थियो । 

बिज्ञप्ति अनुसार यादव पहिलेदेखि नै लुपस भन्ने रोगले मिर्गौला समेत कमजोर भएको अवस्थामा ज्वरो र निमोनियाको लक्षण भइ चितवन मेडिकल कलेजबाट रिफर भएका थिए । उनलाई सोमबार कोभिड १९ को आशंका देखिएको भन्दै अस्थाई अस्पताल भर्ना गरिएको थियो । विरामीको स्वाब (नमुना कलेक्सन) १० गते (सोमबार) नै काठमाडौं पठाइएको थियो । जुन रिपोर्ट आउन बाँकी छ ।

अस्थाई अस्पतालमा उपचाररत उनलाई आज बिहान साढे ९ बजे  चिकित्सकले मृत घोषित गरेका थिए । स्वावको रिपोर्ट आउन बाँकी रहेकाले मृत शरीरलाई रिपोर्ट नआउन्जेल आइसोलेसनमा रााखएको अस्पतालले जानकारी दिएको छ । 

हेर्नुहोस् यस्तो छ विज्ञप्ति


यस बिषयमा तपाइको प्रतिक्रिया...!