रत्ननगरको फोहर व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई

Posted on: 23 Oct, 2019

कात्तिक ६ , चितवन | रत्ननगर नगरपालिकामा निजी कम्पनीले फोहर सङ्कलनको काम शुरु गरेको छ । फोहर सङ्कलन र व्यवस्थापनको काम खर्चिलो बन्दै गएपछि नगरपालिकाले निजी क्षेत्रलाई काम गर्ने जिम्मेवारी दिएको हो ।

फोहर सङ्कलन र व्यवस्थापनका लागि श्रीमाता कङ्कालीमाई उद्योग प्रालि काठमाडौँसँग नगरपालिकाले १६ बुँदे सम्झौता गरेर काम गर्ने जिम्मा दिएको प्रमुख प्रशासकीय अधिकृत टुवराज पोखरेलले जानकारी दिनुभयो । प्रालिले यही कात्तिक १ गतेबाट फोहर सङ्कलनको काम शुरु गरेको छ । सो कम्पनीले वार्षिक रु १० लाख ६६ हजार नगरपालिकालाई बुझाउने गरी फोहर सङ्कलनको जिम्मेवारी दिइएको उहाँले जानकारी दिनुभयो ।

रत्ननगरमा दैनिक करीब २५ टन फोहर सङ्कलन हुन्छ । नगरपालिकाले सङ्कलित फोहर पञ्चकन्या सामुदायिक वनमा थुपार्दै आएको छ । फोहरलाई वर्गीकरण गर्ने, सड्ने र नसड्ने फोहर छुट्याएर सड्ने फोहरबाट प्राङ्गारिक मल र नसड्ने फोहर पुनः प्रशोधन गरी बिक्री गर्ने गरी सम्झौता भएको छ ।  रत्ननगरमा सरसफाइ शुल्कवापत वार्षिक रु २२ लाख सङ्कलन  हुने र फोहर सङ्कलनका लागि करीब रु एक करोड खर्च हुँदै आएको छ ।

नगर प्रमुख नारायण वनले फोहरलाई नयाँ ढङ्गबाट व्यवस्थापन गर्ने गरी निजी कम्पनीलाई  जिम्मेवारी दिइएको बताउनुभयो । निजी क्षेत्रलाई फोहरको व्यवस्थापन गर्ने जिम्मा दिएसँगै नगरपालिकालाई वार्षिकरूपमा रु ७८ लाख बचत हुने भएको छ । सो रकम विकास निर्माणमा खर्च गरिने उहाँले बताउनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!