बढी भाडा फिर्ता गराउँदै प्रहरी

Posted on: 03 Oct, 2019

असोज १६, चितवन | दशैँ मनाउन राजधानी बाहिरिने यात्रुसँग यातायात व्यवसायीले मनलाग्दी भाडा असूल गर्न थालेपछि यहाँका सडकमा चेकजाँचमा कडाइ गरिएको छ । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले काठमाडौँबाट आउने सवारी साधनलाई रोकेर यात्रुसँग भाडा के कति लिइएको हो सोधपुछ थालेको छ । कार्यालयका प्रमुख प्रहरी निरीक्षक चन्द्रकुमार गिरीका अनुसार बुधबार एउटा माईक्रो बसका १७ जना यात्रुको बढी भाडा लिइएको रकम फिर्ता गराइएको छ । उहाँका अनुसार काठमाडौँबाट यात्रु लिएर कावासोतीको लागि हिँडेको बा ३ ख ३८९१ नं को माइक्रो बसका यात्रुलाई रु दुई सय देखि चार सयसम्म बढी लिइएको भाडा प्रति व्यक्तिका दरले फिर्ता गराइएको हो । 

गिरीका अनुसार आज यातायात कार्यालयका प्रतिनिधिको रोहवरमा भरतपुरको रामनगरमा चेकजाँच थालिएको छ । दशैँको टिकाको दिन अघिसम्म काठमाडौँबाट आउने र टीकापछि काठमाडौँ फर्कने सवारी साधनमा चेकजाँच गरिने उहाँले बताउनुभयो । 

गन्तव्यमा पुग्नैपर्ने यात्रुलाई बाध्य पारेर बढी भाडा लिने गरिएको भन्दै उहाँले त्यस्ता सवारीलाई रकम फिर्ता गराई कडा कारवाही गरिने बताउनुभयो । 

यस्तै सवारी गतिसमेत चेकजाँच गर्न थालिएको छ । चाडपर्वको समयमा तीव्र गतिमा सवारी चलाउने गरेको र यसले दुर्घटना बढाउने भन्दै चेकजाँच थालिएको हो । बुधबार कुरिनटार क्षेत्रमा राजमार्गमा गति मापनयन्त्र (राडरगन) बाट चेकजाँज गरिएको थियो । यस कार्यलाई पनि विभिन्न सडकमा निरन्तरता दिइने गिरीले जानकारी दिनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!