केन्द्रीय सदस्य वडाबाटै निर्वाचित हुनुपर्छ: नेता केसी

Posted on: 19 Feb, 2019

फागुन ७, चितवन । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पार्टीको महाधिवेशनमा केन्द्रीय सदस्य पनि वडाबाटै निर्वाचित भएर आउनुपर्ने बताउनुभएको छ । 

नेपाल प्रेस युनियनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले महासमितिले दिएको सुझाव सबैले पालना गर्नुपर्ने बताउनुभयो । उहाँले वडा तहबाटै निर्वाचित हुने विषयमा पार्टी सभापतिले समेत सम्बोधन गर्नुभएकाले यसलाई कसैले हटाउन नसक्ने बताउनुभयो । वडा तहबाटनै निर्वाचित भएर केन्द्रीय समिति बन्यो भने पार्टी चलायमान हुने र कार्यकर्ताको भावनाको कदर हुने उहाँको भनाइ थियो । 

नेता केसीले काङ्ग्रेस अनेक किसिमका आरोह अवरोहका बीचमा पनि आफ्नो सिद्धान्तबाटपछि नहटेको बताउनुभयो । काङ्ग्रेसले अहिले समसामयिक रुपमा लोकतन्त्रसँग प्रत्यक्ष रुपमा सरोकार राख्ने विषयलाई उठान गर्दै आएको उहाँको भनाइ थियो । सरकारले भ्रष्टाचार शून्य बनाउने कुरा गरे पनि व्यवहारमा लागू नगरेको केसीको आरोप थियो । उहाँले भन्नुभयो, “प्रधानमन्त्रीले भ्रष्टचारीलाई हेर्न सक्दिन भन्नुहुन्छ, तर उहाँकै अगाडि एकपछि अर्को भ्रष्टचारका काण्ड बाहिर आइरहेका छन् ।” रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!