अण्डाको मूल्य घट्यो

Posted on: 15 Feb, 2021

फागुन ३, चितवन  । सधैँ उतारचढाव भइरहने कुखुराको अण्डाको मूल्य  घटेको छ । उत्पादन बढेको र खपत घटेसँगै मूल्यमा गिरावट आएको हो ।   स्वस्थानी व्रतकथा शुभारम्भ भएसँगै उपभोग घटेको छ । कोरोना सङ्क्रमणसँगै चल्लाको अभावमा हुँदा अण्डा दिने कुखुराको सङ्ख्यामा कमी आएको थियो । पछिल्लो समय नयाँ कुखुरा बढेसँगै उत्पादन बढेपछि मूल्य घटेको नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष शिवराम केसीले जानकारी दिनुभयो । 

अण्डाको मूल्य बढेका बेला बुढा कुखुरा बिक्री नगरेका कारण पनि उत्पादन बढी भएको उहाँको भनाइ छ । सामान्यतया अण्डा दिने कुखुरा एक वर्ष छ महिना पाल्ने गरिन्छ । अण्डाको मूल्य बढ्दा किसानले थप एक वर्षसम्म पाल्ने गरेको उहाँको भनाइ छ । 

 मूल्य घटेसँगै कृषक प्रभावित बनेका छन् । सङ्घले माघ २६ गतेदेखि लागू हुने गरी ठूलो अण्डा फार्म दर प्रतिक्रेट (३० वटाको) ३२५ र मध्यम रु ३०० कायम गरेको छ । यसअघि ठूलो अण्डाको दर रु ३६० र मध्यम अण्डाको रु ३४० सम्म पुगेको थियो । केसीले भन्नुभयो, “उत्पादन बढी र खपत घटेकै कारण अण्डाको मूल्य घटेको हो ।” 

 यो दररेटमा अण्डा बिक्री गर्दा खर्च धान्न मुस्किल हुने किसानको भनाइ छ । अण्डा उत्पादक किसान मदन पोखरेलले एउटा अण्डा उत्पादन गर्न रु ११.५३ लागत लाग्ने बतउँदै यो दररेटमा बिक्री गर्दा किसानलाई घाटा हुने बताउनुभयो । उहाँका अनुसार अहिलेको दररेटमा बिक्री गर्दा झण्डै रु एक प्रतिवटा अण्डामा किसानले नोक्सान व्यहोर्नु परेको छ । 

 उपभोक्ताले भने सस्तो मूल्यमा अण्डा उपभोग पाएका छैनन् । उपभोक्ताले भने रु १५ मा अण्डा खरिद गर्न बाध्य छन् । विचौलियाले बढी नाफा खाएर उपभोक्तालाई महङ्गो मूल्यमा बिक्री गरिरहेको पोखरेलले बताउनुभयो । उहाँले भन्नुभयो, “सङ्घले समन्वय गर्न नसक्दा उपभोक्ता ठगिएका छन् ।”

 सङ्घका उपाध्यक्षसमेत रहनुभएका किसान किरण ओली बजारमा अण्डाको माग भइरहेको भए पनि व्यवसायीको चलखेलका कारण मूल्य घटेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “म सस्तोमा अण्डा बिक्री गर्दिनभन्दा मसँग एक हजार ५०० पेटी अण्डा थन्किएको छ ।” अहिलेको अवस्थामा सस्तोमा अण्डा बिक्री गर्नुपर्ने अवस्था नरहेको भए पनि व्यवसायीको चलखेललाई केही किसानको सहयोगका कारण समस्या आएको उहाँले आरोप लगाउनुभयो । 

 घाटामा व्यवसाय गर्दा कुखुरा पाल्ने किसान निकै घटेको उहाँको भनाइ छ । दुई हजार ७०० हाराहारी लेयर्स कुखुरा पाल्ने किसान रहेकामा यो सङ्ख्या घटेर एक हजार ७०० मा झरेको उहाँले जानकारी दिनुभयो । ओलीले भन्नुभयो, “साना किसान विस्थापित र ठूला स्थापित हुँदैछन् ।” 

 हाल दैनिक देशभरमा ३२ लाख वटा अण्डा उत्पादन हुँदै आएको छ । केही महिनाअघिसम्म यो सङ्ख्या २६ लाख हाराहारी रहेको सङ्घले जनाएको छ ।  नेपालमा कुखुराजन्य क्षेत्रमा रु १ खर्ब २५ अर्ब लगानी भएको व्यवसायीहरु बताउँछन् ।रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!