भरतपुरमा हवाई सङ्ख्या र यात्रु बढे

Posted on: 11 Feb, 2021

माघ २९, चितवन । कोरोनाका कारण सुस्ताएको भरतपुरको विमानस्थलको आन्तरिक उडान अङ्ग्रेजी नयाँ वर्षसँगै उत्साहजनकरूपमा बढेको छ । सन् २०२१ को पहिलो महिना आन्तरिक उडानमा भरतपुरको दुईतर्फी यात्रु सहभागिता हवाई सेवा कम्पनीका लागि उत्साहजनक रहेको पाइएको छ ।

नागरिक उड्डयन प्राधिकरणको तथ्याङ्कअनुसार गत जनवरी महिनामा मौसमले कयौँ उडान रद्द हुँदा पनि भरतपुरमा विभिन्न एयरलाइन्सको २०५ वटा उडान र अवतरण भएका छन् । सो अवधिमा छ हजार ४७१ यात्रु भित्रिएका थिए भने छ हजार ७२२ यात्रु बाहिरिएका थिए । यस अवधिमा भरतपुर विमानस्थलबाट १३ हजार १९३ ले सेवा लिएका छन् । डिसेम्बरमा १४ हजार ८८९ यात्रुले सेवा लिएका छन् । जनवरीमा हवाई यात्रुको सङ्ख्या कम हुनुमा मौसमको खराबीले कयौँ दिनसम्म उडान रद्द हुनु मुख्य कारण रहेको भरतपुर विमानस्थलले जनाएको छ ।

विमानस्थलका प्रमुख योगेन्द्र कुँवरले कोरोनाको महामारीपछि विस्तारै तुलनात्मकरूपमा हवाई यात्रुको सङ्ख्या बढिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “चितवनमा हवाई उडानमा खर्च गर्ने नागरिकको क्षमता बढ्दै गएको छ । कोरोनाका कारणले हवाई यात्रु थप सुरक्षित महसुस गरेका छन् ।” उहाँले कोरोनाको त्रास घट्दै गएर चितवनमा पर्यटकीय गतिविधि बढ्दै गएकाले पनि हवाई यात्रु बढेको बताउनुभयो । भरतपुरको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा एकै दिन राष्ट्रिय खेलाडी र कलाकार विमान चार्टर्ड गरेर क्रिकेट खेल्न आएका थिए । यस्ता गतिविधि बढ्दै गएमा झनै हवाई यात्रु बढ्ने प्रमुख कुँवरले जनाउनुभयो । उहाँले कतिपय मानिसले मन्त्रालयमा एकैदिन काम सकेर फर्किन हतार भएकाले पनि हवाई यात्रा रोज्ने गरेको विचार राख्नुभयो ।

भरतपुर विमानस्थलका कम्प्युटर अपरेटर उचित पौडेलका अनुसार गत वर्ष सेप्टेम्बरमा जम्मा हवाई यात्रु एक हजार ७९६, अक्टोबरमा आठ हजार ५६० र नोभेम्बरमा यो सङ्ख्या बढेर ११ हजार ७८४ पुगेको छ । मौसमको खराबीका कारण बेलाबेला पूर्वनिर्धारित उडानका तालिका प्रभावित भए पनि जनवरी महिनाको तथ्याङ्कले हवाई सेवा कम्पनीले राम्रो फाइदा कमाउन सफल रहेको देखाएको छ । 

बुद्धएयर भरतपुरका प्रबन्धक भक्तबहादुर बस्नेतले चितवनमा हवाई यात्रुको सङ्ख्या बढेर पुरानै अवस्थामा फर्कन लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “कोरोना महामारी अगाडि कै अवस्थामा भने पुगेको छैन तर यात्रुको सङ्ख्या उल्लेख्यरूपमा बढिरहेको छ ।” उहाँले अहिले भरतपुरमा छ वटा बुद्धएयरको उडान भइरहेको बताउनुभयो । केही दिनअघि मात्र बुद्धले थप एक उडान भर्न शुरु गरेको हो । विभिन्न ठाउँमा भएका राजनीतिक दलका ठूला कार्यक्रमले पनि हवाई यात्रु बढेको उहाँले बताउनुभयो । माघ महिनामा मौसमका कारणले केही उडान रद्द भएकाले र बढी चिसोको कारणले केही यात्रु कम भए पनि फागुन लागेपछि झनै बढ्ने बस्नेतको भनाइ छ । दुईवटा उडान गर्दै आएको यती एयरलाइन्सले अहिले भरतपुरमा उडान सङ्ख्या तीनवटा बनाएको छ ।रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!