कुवेतको अस्पतालमा थला परेका प्रेम वान्तवाको उद्धार

Posted on: 22 Nov, 2019

मङ्सिर ६, भोजपुर | प्यारालाइसिसले कुवेतको अस्पतालमा थला परेका भोजपुर नगरपालिका–१ का प्रेम वान्तवाको उद्धार गरिएको छ । उच्च रक्तचापका कारण बिरामी परेका वान्तावालाई नेपाली दूतावास र विभिन्न सङ्घसंस्थाको सहयोगमा अलजजिरा एयरलाइन्समार्फत आज नेपाल फर्काइएको हो । कम्पनीतर्फबाट प्लेन टिकट, हालसम्मको अस्पतालमा उपचार खर्च र तलब कम्पनीले भुक्तान गरेपछि नेपाल फर्काइएको पारिवारिक स्रोतले जनाएको छ । 

केही समयअघि वैदेशिक रोजगारको सिलसिलामा कुवेत पुगेका वान्तवा कम्पनीमा काम गर्दागर्दै ढलेका थिए । “पारिवारिक अवस्था दयनीय रहेका कारण उपचार खर्च जुटाउन र समन्वय गर्दै नेपाल ल्याउँनका लागि समस्या भएपछि सामाजिक सञ्जालमार्फत सहयोग अपिल गरेका थियौँ”, अभियानकर्ता नुमा राईले बताउनुभयो । राईले भन्नुभयो, “हामीले सामाजिक सञ्जालमार्फत धेरैभन्दा धेरै रकम सङ्कलन गर्न सक्षम भइसकेका छौं, सामाजिक सञ्जालमार्फत उठेको रकमले प्रेमलाई आज हामीले नेपाल ल्याउन सकेका छौँ । अहिले पनि सहयोग उठ्नेक्रम जारी छ यो अभियानलाई निरन्तरता दिन्छौँ ।”

हाम्रो प्यारो भोजपुर फेसबुक पेजबाट सामाजिक सञ्जाल समूहमार्फत आह्वान गर्दै आएका अभियानकर्ताले सहयोग गरिसकेपछि सोको भौचर तथा पेजमा पोष्ट गरिदिनुहुन पनि अनुरोध गरेका छन् । प्रेमकी श्रीमती शीलाले आफ्नो श्रीमान् गत वर्ष फागुनमा विदेश जान्छु भन्दै काठमाडौँ गएका तर पछि एकैचोटी विदेशमा बिरामी परेको खबर सुनेको बताउनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!