चाँगुनारायण नगरपालिकाद्वारा बृहत् वृक्षरोपण अभियान

Posted on: 30 Jun, 2020

असार १६, भक्तपुर । सामुदायिक वनलाई स्थानीय बासिन्दा र नगरपालिकाको आम्दानीको स्रोत बनाउन चाँगुनारायण नगरपालिकाले जडीबुटी र फलफूलका ५० हजार वृक्षरोपण गरेको छ । वनलाई विकास, सम्बृद्धि र स्थानीयको जीवनस्तर उकास्ने गरी आयश्रोतसँग जोड्ने उद्देश्यले यहाँका ती वनमा वृहत् वृक्षरोपण अभियान सुरु गरेको चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले जानकारी दिनुभयो ।

सो नगरपालिका क्षेत्र भित्रका विभिन्न सामुदायिक वन उपभोक्ता समूहको संयुक्त आयोजनामा भएको वृक्षरोपणमा आयमुलक प्रजातिका विरुवा रोपिएको उहाँले बताउनुभयो । रु ३३ लाखको बिरुवा खरिद गरिएको र डिभिजन वन कार्यालय भक्तपुरको प्राविधिक सहयोग गरेको थियो । 

कागती, टिमुर, तेजपात, अम्रिसो, एभोकार्डो, लोठसल्ला लगायतका प्रजातिका बिरुवा रोपिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी तिम्सिनाले जानकारी दिनुभयो । नगरक्षेत्रका बिभिन्न सामुदायिक वनमा थप पाँच हजार लालीगुराँस, जडीबुटी र फलफुलका बिरुवा रोप्ने तयारी भैरहेको उहाँले जानकारी दिनुभयो । 

नगरपालिकाले कबुलियत अवधारणा अन्तर्गत वडा नं. ६ को गंगादेवी, कालिका र वडा नं. ८ को बहाल सामुदायिक वनमा वृक्षरोपण अभियान सञ्चालन भइरहेको छ । रोपिएका बिरुवाबाट हुने सम्पूर्ण आम्दानीको पाँच प्रतिशत वन उपभोक्ता समूहलाई, १० प्रतिशत नगरपालिका बुझाउनु पर्ने र बाँकी ८५ प्रतिशत आम्दानी सम्बन्धित व्यक्ति वा समूहले लिने व्यवस्था गरिएको छ ।

प्रत्यक्ष रुपमा व्यक्ति र समूहलाई जोडेर आम्दानी गर्ने भएकाले वृक्षरोपण अभियानलाई सार्थक रुप दिई वन जोगाउने अभियानमा टेवा पुग्ने विश्वास गरिएको छ । वृक्षरोपण कार्यक्रममा गंगादेबी सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष धनबहादुर तामाङ्गले १८ देखि २० जनासम्म स्थानीयको समूहमा १२ वटा ब्लक बनाएर दुई दिनदेखि वृक्षरोपण गरिरहेको बताउनुभयो ।

स्थानीयलाई काठ, दाउरा भन्दा आम्दानी र जीवनस्तर उकास्ने गरी नगरपालिकाले सुरु गरेको अभियानले टेवा पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!