भक्तपुरमा सांसद महेश बस्नेतद्वारा तीन सडकको शिलान्यास

Posted on: 08 May, 2019

वैशाख २५, भक्तपुर । सांसद महेश बस्नेतले आज एकै दिन कूल रु ११ करोड ८० लाखको लागतमा निर्माण हुन लागेका तीन सडकको शिलान्यास गर्नुभएको छ । 

उहाँले सूर्यविनायक नगरपालिका–७ गुण्डू पीपलडाँडा बसपार्क सडक, गुण्डु ओरालोदेखि तीनधारे सडक र पलासेबाट काँक्राबारी सडकको आज शिलान्यास गर्नुभएको हो । एचआरभी कन्सट्रक्सनले रु पाँच करोडको लागतमा १४ मिटर चौडा सडक निर्माण गर्ने भएको हो । त्यस्तै समानान्तर ग्रिन पिस आर ए विल्डर्सले रु पाँच करोडको लागतमा २६ फिट चौडाइ सडक निर्माण गर्ने भएको छ । पलासेबाट काँक्राबारीसम्मको आठ मिटर चौडाइको सडक रु एक करोड तथा  सूर्यविनायक नगरपालिका र काठमाडौँ नगर विकासको रु ८० लाखको सहयोगमा निर्माण हुने भएको छ ।  

सांसद बस्नेतले जडीबुटीस्थित बेलिब्रिजको निर्माणले काठमाडौँतर्फको करिडोर कालोपत्रसहित बालकुमारीसम्म निर्माण सम्पन्न हुने बताउनुभयो । कोटेश्वरमा अण्डरपास र मनोहरा नदीको दायाँबायाँ चार लेनको सडक निर्माणको प्रक्रिया पनि अघि बढाइएको उहाँले बताउनुभयो । उहाँले राधेराधेदेखि बालकुमारीसम्मको हनुमन्ते करिडोर निर्माण सम्पन्न गरी आगामी तीन वर्षभित्रमा यसलाई अरनिको राजमार्गको वैकल्पिक मार्गका रुपमा प्रयोगमा ल्याइने बताउनुभयो । मनोहरा र हुनमन्ते नदीको करिडोर निर्माणका लागि अर्थ मन्त्रालयले बहुवर्षीय योजनामा समावेश गरेको र आगामी वर्ष हनुमन्ते तथा मनोहरा करिडोरका लागि कम्तीमा रु एक–एक अर्ब बजेट आउने बताउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!