दुर्घटनामा घाइते बाराका प्रमुख जिल्ला अधिकारी भट्टराईको उपचारका क्रममा निधन

Posted on: 18 Feb, 2019

फागुन ६, बारा । दुर्घटनामा परी घाइते भएका बाराका प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद भट्टराईको उपचारको क्रममा सोमबार निधन भएको छ ।

गएको माघ १२ गते कर्मचारी मिलन केन्द्र बाराले निजगढस्थित शहीद हिरालाल पार्कमा आयोजना गरेको वनभोज कार्यक्रमबाट फर्किएको ना १ झ १६३३ नम्बरको जीप पथलैया–निजगढ सडकखण्डको पसाहा पुल नजिक रोकिराखेको ट्याक्टरमा ठोक्किएर दुर्घटनामा परेको थियो ।


उपचारका लागि काठमाडौँ ल्याइएका उनको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको अस्पताल प्रशासन प्रमुख सूर्य प्रसाद अधिकारीले जानकारी दिए ।

दुर्घटनामा परि घटनास्थलमै सशस्त्र प्रहरी उपरीक्षक बलराम पोख्रेलको निधन भएको थियो ।

गएको शनिबार एसपी पोख्रेल र प्रजिअ भट्टराईका परिवारले सवारी दुर्घटना रहस्यमय भएको भन्दै छानबिन गर्न माग गरेका थिए । 

प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईका भाइ नरेश भट्टराईले काठमाण्डौ पत्रकार सम्मेलन गर्दै घटना नियोजित भएको आशंका गर्ने ठाउँ प्रशस्त देखिएकाले छानबिनको माग गर्नुपरेको बताएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!